आँखा शिविरको पहिलो दिन २६ जनामा मोतियाविन्दुको शल्यक्रिया

0
30

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा चेकजाँच शिविरमा २६ जनामा मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

शिविरको पहिलो दिन सोमबार विभिन्न स्थानबाट आँखा उपचारको सेवा लिन आएका बिरामीहरुमा आँखाको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएका २६ जनामध्ये २० जना महिला र ६ जना पुरुष रहेको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । यसैगरी शिविरको पहिलो दिन कुल २ सय ८३ जनाले ओपिडी नामदर्ता गराएकोमा १ सय ७२ जना महिला र १ सय ११ जना पुरुष रहेका छन् ।

यसअघि धवलागिरि गाउँपालिका ३ मुना, ५ नम्बर वडा मल्कबाङ, ६ नम्बर वडा मराङ र ७ नम्बर वडाको धारापानीमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो ।

यसैगरी बेनी नगरपालिका–६, अर्थुङ्गेमा पनि स्क्रिनिङ क्याम्प सञ्चालन गरी मोतियाविन्दुको पहिचान भएको थियो । उक्त स्क्रिनिङ क्याम्पमा भेटिएका मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई दरबाङमा सञ्चालित निःशुल्क शल्यक्रियाको शिविरमा आँखाको अप्रेसन गरिएको नेत्रज्योति संघ म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो ।

साथै नेत्रज्योति संघमार्फत म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकमा सञ्चालित आँखा उपचार केन्द्रमा समेत मोतियाविन्दुको पहिचान भएका बिरामीलाई शिविरमा बोलाएर शल्यिक्रिया गरिएको छ ।

दरबाङमा सञ्चालन भैरहेको निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोग रहेको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको आँखा शिविरमा रेड्ली आई फाउण्डेशनले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । बुधवारसम्म (तीनदिन) चल्ने निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा सर्वसाधारण बिरामीहरुको घुइँचो लागेको छ । मालिका गाउँपालिका, धवलागिरि, मंगला, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत शिविरमा उपलब्ध रहेको निःशुल्क सेवा लिन सर्वसाधारणहरु आएका छन् ।

हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको् टिमले बिरामीको शल्यक्रिया गर्नुका साथै परामर्श सेवा दिएको छ । शिविरमा निःशुल्क रुपमा सर्वसाधारण तथा बिरामीहरुलाई औषधी र चस्मा समेत वितरण गरिएको छ ।

पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित निःशुल्क रुपमा आँखाको शल्यक्रिया शिविरले खासगरी ग्रामीण भेगका उपचारकै लागि अस्पताल जान नपाएका बिरामीहरुलाई राहत मिलेको छ । उनीहरुलाई समयको बचत हुनुको साथै सेवा लिन बजारसम्म जानुपर्ने बाध्यताको अन्त्य र खर्चको पनि बचत भएको जनाइएको छ ।