---Advertisement---

कतारमा थाली नाचकी एक्ली कलाकार यमुना पटेल

On: May 7, 2025 12:46 PM
Follow Us:

कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका–३,रूमकी यमुना पटेललाई नेपाली संघसंस्थाले आयोजना गरेका हरेक कार्यक्रममा थाली नाचका लागि निम्तो आउँछ । कतारको एक छात्रा अध्ययनरत कलेजमा सुपरभाइजर पदमा कार्यरत पटेलको थाली नाच नेपाली संघसंस्थाको रोजाईमा परेको छ ।

फुर्सद र विदाको समयमा मोना कतारको कार्यक्रममा नियमित जस्तै म्याग्दीको पहिचान थाली नाचमा नृत्य प्रस्तुत गर्नुहुन्छ । मोना कतारको मालिका गाउँपालिका प्रमुख, सांस्कृतिक विभाग एवम् कार्यसमिति सदस्य पटेलले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यबाट कतारमा रहेका नेपाली दंग पर्छन् ।

कतारमा रहेका करिब १ सय नेपाली संघसंस्थामा प्रतिनिधित्व गर्नेहरूले पटेलको नाचमा नजर पुर्याएका छन् । कलाकार पटेलको नाचमा नेपाली मात्रै नभई कतारमा रोजगारीका लागि गएका विदेशी र कतारीले समेत निकै निकै चासोपु्र्वक हेर्ने गरेको पाइन्छ ।‘नेपाली संघसंस्थाको पहिलो रोजाईमा पर्नुहुन्छ, म्याग्दीबाट सुरु भएको थाली नाच अहिले कतारमा निकै लोकप्रिय छ ।’मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले भन्नुभयो । म्याग्दीको मौलिक नाचमार्फत म्याग्दी जिल्लाको समेत प्रचारप्रसार भइरहेको अध्यक्ष भण्डारीको भनाई छ ।

हालसम्म कतारमा रहेका दर्जनौ संघसंस्थामा पुगेर थाली नाच प्रस्तुत गर्नुभएकी पटेलले थाली नाचबाट कतारमा नेपाली कला र संस्कृति झल्काउने अभियानमा सहयोग पुगेको बताउनुभयो । ‘थालीले म्याग्देली सांस्कृतिक पहिचान झल्किएको छ, मैले आफ्नो तर्फबाट सक्ने सबै ठाउँमा पुगेर नाच देखाइरहेको छु ।’ पटेलले बेनीअनलाइनलाई भन्नुभयो ।

पटेलले कामको ब्यस्तताले गर्दा सबैजसो कार्यक्रममा पुग्न नसकेपनि थाली नाच कतारमा भित्राएपछि अहिले भइरहेको चर्चाले मोना कतार समेत उत्साहित छ । थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै हरेक कार्यक्रममा प्रशंसा हुने गरेको मोना कतारका महासचिव शिव खड्काले बताउनुभयो।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। नाचमार्फत दर्शकको आर्कषक र आर्थिक सहयोग जुटाउन समेत आयोजकलाई सहज भइरहेको छ । डेढदशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन भएपनि अहिले स्टलको थाल नचाउने गरिन्छ ।

वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन्। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।