निःशुल्क आँखा शिविरबाट ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया

0
31

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु भएर बुधवार सम्पन्न शिविरमा महिला ४ सय ५३ जना पुरुष २ सय ६१ जनाले आँखा परीक्षण गराएर आवश्यक उपचार तथा परामर्श सुविधा लिएका छन् ।

यसैगरी शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित कुल ७४ जनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा आँखा परीक्षण गर्न आएका सर्वसाधारण तथा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको थियो ।

शिविरको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले विभिन्न संघसंस्थाको सहकार्य तथा समन्वयमा सर्वसाधारणहरुलाई आँखा उपचार सम्बन्धी सुविधा प्रदान गर्न गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले तीन दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सफल बनाउन खट्नुहुने प्राविधिक टोलीसहित संघसंस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गाउँपालिकामार्फत यस्ता रचनात्मक क्रियाकलापहरु सञ्चालनमा जोड दिइने बताउनुभयो । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले वर्षमा आयोजना हुने एक दुईवटा शिविरले दीर्घकालीन समाधान नभए पनि स्थानीयवासीहरुको स्वास्थ्य समस्याको पहिचान गरी आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउने बताउनुभयो ।

आँखा सम्बन्धी स्वास्थ्य शिविर लोककल्याणकारी कार्यक्रम भएको भन्दै उहाँले गाउँपालिकामार्फत आउँदा दिनहरुमा पनि यस्ता शिविरहरु आयोजना गरिने बताउनुभयो । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायस्तरमा लुकेर रहेको अन्धोपन निवारण गर्न नेत्रज्योति संघमार्फत निःशुल्क रुपमा आँखाको स्क्रिनिङ क्याम्प र मोतियाविन्दुको शल्यक्रियालगायत कार्यक्रम सञ्चालनको पहल गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतम (जीवन) र अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका वरिष्ठ सुरक्षा अधिकृत सुरेश घलेले रेडक्रस तथा हाईड्रोपावरमार्फत समुदायमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरिएको बताउनुभयो । आँखा शिविर कार्यक्रमको समापनसत्र मालिका गाउँपालिकाका उपाध्यक्ष घर्तीमगरको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शिविर सञ्चालनमा सहयोग गर्ने विभिन्न संघसंस्था, आँखाको उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली, स्वयंसेवा गर्ने विद्यालय, व्यक्ति र स्थानीयलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सञ्चालन गरिएको हो ।

रेडक्रस दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको यस शिविरको रेड्ली आई फाउण्डेसनले मोतियाविन्दुको शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

शिविरमा हिमालयन आँखा अस्पताल, दरबाङ आधारभूत अस्पताल, मालिका गाउँपालिका, आँखा उपचार केन्द्र बेनी र दरबाङबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिरामीहरुको आँखा चेकजाँच गर्नुका साथै उपचार एवं परामर्श सेवा उपलब्ध गराएका थिए । शिविरमा मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरुले उपचार सेवा लिएका छन् ।