आज विश्व रेडक्रस दिवस, नेपालमा पनि मनाइँदै

0
18

आज विश्व रेडक्रस दिवस, नेपालमा पनि मनाइँदै छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ यो वर्ष विश्व रेडक्रस दिवस मनाउन लागिएको हो ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासका लागि सम्मान गर्न हरेक वर्ष ‘मे’ ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि यसै दिन रहेको छ ।

रेडक्रसका संस्थापक ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवम् अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने  विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्व समुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरूले व्यक्त गरेका छन् ।