केही बर्ष अगाडीसम्म पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दुखुबेँसी र मङ्गला गाउँपालिका–२ मा पर्ने सहश्र्रधाराको सिमानामा अवस्थित भाले बास्ने ताल पुग्न र देख्न मुस्किल हुन्थ्यो । अक्करे भीर, जंगलभित्रको साँघुरो बाटोबाट तालसम्म पुग्न स्थानीयले समेत ज्यानकै बाजी लगाउनुपर्नेै बाध्यता थियो ।
भाले बास्ने तालका बारेमा सुनेका पर्यटकहरू समेत टाढाबाट अवलोकन गरी फर्किने गर्दथे । जङ्गलभित्र रहेका नियालोको सहारामा तालभन्दा माथि पर्ने जङ्गलसम्म पुगे पनि ताल भएको ठाउँमा भने जान सकिँदैन थियो ।
अहिले मालिका गाउँपालिकाले पदमार्ग सहित पुर्वाधार निर्माणमा प्राथमिकता दिएपछि पैदलमार्ग सहितको संरचनाले ताल नजिकै पुग्न स्थानीयबासी र पर्यटकलाई समेत निकै सहज भएको छ । निकै प्रख्यात तालको प्रचारप्रसारमा समेत स्थानीयबासी जुटेका छन् ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७÷०७८ देखि गत वर्षसम्म ताल सम्म पुग्न दुखुबेँसी गाउँदेखि १५ लाख रुपैयाँ लागतमा करिब दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण गरेको छ । चालु आर्थिक वर्षमा चाल लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण गरिएको पदमार्ग र मन्दिर पुर्ननिर्माण उपभोक्ता समिति अध्यक्ष गङ्ग रोकाले बताउनुभयो ।
उक्त मन्दिरको मङ्गलबार एक कार्यक्रमका विच दुखुबेँसीका ज्येष्ठ नागरिक पथनारायण रोकाले उद्घाटन गर्नुभयो । पदमार्ग निर्माण र मन्दिर पुनर्निर्माण भएपछि यात्रा गर्न र पुजाआजा गर्न सहज भएको अध्यक्ष रोकाले बताउनुभयो । पहिले पुजाआजा र ताल हेर्न जान कठिन यात्रा गर्नुपर्दथ्यो ।
ताल क्षेत्रमा थप पुर्वाधार निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा स्थानीयले ठुलो लाभ लिन सकिने भएपछि निवर्तमान वडा अध्यक्ष सन्तनाथ सुबेदीले आफ्नो कार्यकालमा पदमार्ग निर्माण सुरु गरिएको बताउनुभयो । सहस्रधारा, दुखुबेसी, दरुङ गाउँबाट यो तालमा पैदलमार्फत करिब ४५ मिनेटमा पुगिन्छ ।
विगतमा लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकमा सोधिने उक्त ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर ‘म्याग्दी जिल्ला’ भनिए पनि म्याग्देलीहरूकै लागि भने यो ताल लोपोन्मुख सम्पदा हुन लागेको थियो ।
स्थानीयवासीमा यो तालमा अझै पनि बिहान–बिहानै कुखुराको भाले बास्न आवाज सुन्ने गरेको बताउँछन् । घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ। झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ। यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ।
दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ। दुवैतिर घना जङ्गल छ। झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ। यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको स्थानीय बुढापाकाको भनाई छ ।
ताल भएको ठाउँ (दुखु झरनाको पुछार) पहरामा जोखिम मोलेर मात्र पुग्न सकिन्छ । मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ।
दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन्। ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन्। बिहान कुखराको भाले बासेको आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन्। आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएछन्। सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ।ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइसमेत थियो।
बेनीबाट बेनी–दरवाङ सडकखण्डअन्तर्गत पर्ने सहश्र्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ। बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहश्र्रधारा पुगिन्छ।भाले बास्ने तालको संरक्षणका लागि निरन्तर लागेको वडा अध्यक्ष पथबहादुर रोकाको भनाई छ । खोलामा आएको बाढीले तालको धेरै भाग पुरिएकाले ताललाई टाढाबाट देख्न नसकिएको अवस्थामा संरक्षणमा स्थानीय सक्रिय भएपछि वडाले समेत योजनामा प्राथमिकता दिएको छ।