‘समाजमा एकल महिलालाई क्षमता अनुसारको अवसर दिनुपर्छ’

0
12

एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गरी आर्थिक सशक्तीकरणका लागि आत्मबल बढाउने कार्यक्रमहरूमा प्राथमिकता दिनुपर्ने बताइएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा एकल महिला तथा सशक्तीकरण केन्द्र बेनी म्याग्दीको समन्वय तथा सहजीकरणमा सदरमुकम बेनीमा आयोजित नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा एकल महिलालाई भत्ताको सुविधाले मात्रै समाजमा स्थापित हुन नसक्ने भन्दै क्षमता अनुसारको अवसरमा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने बताइएको थियो ।

तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने पौडेलले एकल महिलाले एक्लै संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पालिकाबाट विभिन्न आयमुलक तालिम तथा साझेदारी निकायसँगको समन्वयमा काम भइरहेको बताउनुभयो ।

उपमेयर लामिछानेले एकल महिला समाजका लागि बलियो शक्ति भएकाले शिक्षा र सीपमूलक तालिम, स्वरोजगार कार्यक्रममा प्राथमिकता दिइएको बताउँदै आगामी बजेटमा समेत कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

तालिममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुबेदीले एकल महिला लक्षित कार्यक्रममार्फत क्षमता विकास, आत्मनिर्भर हुने कार्यक्रमहरु प्रस्ताव गरिएको बताउनुभयो ।

केन्द्रकी अध्यक्ष देबी केसीले म्याग्दीका सबै स्थानीय तहले एकल महिलालाई बजेट विनियोजन गरी औषधि उपचार, उद्धार र राहत पुनःस्थापना, कानुनी सहायता, सामाजिक मर्यादा अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम एवं एकल महिलाको हकहित संरक्षण र संवद्र्धनका लागि प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो ।

तालिमको सहजीकरण एकल महिला गण्डकी प्रदेशकी अगुवा प्रशिक्षक जुना केसी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । तालिमा ६ वटै स्थानीय तहबाट ३० जना भन्दा बढीको सहभागिता रहेको थियो। तालिमको अध्यक्षता केन्द्रकी अध्यक्ष केसी, स्वागत सहकोषाध्यक्ष सोनी शर्मा र सञ्चालन सचिव हिरा पौडेलले गर्नुभएको थियो ।