पर्वतको कालञ्जरमा ३४ दिने महायज्ञ शुरु

0
23

पर्वतको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा कालाञ्जर पर्वतमा १ सय ८ श्रीमद भागवत महापुराण ज्ञानमहायज्ञको बुधबार देखी शुभारम्भ गरिएको हो ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाई तथा जलजला गाउँपालिकाको व्यवस्थापनमा महायज्ञ संचालन गरिएको आयोजकले बताएका छन् ।

महायज्ञको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले आँफूले लामो समयसम्म तपस्या गरेको उक्त स्थलमा धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका सबै मान्यताहरु रहेको बताउनुभयो ।

उहाँका अनुशार यो क्षेत्र हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको सो पर्वतको कालञ्जर पर्वत उक्तम तीर्थस्थल भएकाले सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको स्वामी कमलनयनाचार्यले बताउनुभयो । तर पनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

कालीगण्डकी नदीसँग जोडिएको उक्त पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ । यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ ।

अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत्को पाचौ अध्यायमा राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् ।

महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वरधाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको धर्मग्रन्थमा उल्लेख रहेको पण्डीत सुर्दशन बडालले बताउनुभयो ।

सवारीमार्फत जानका लागि कुश्माबाट बनौं हुँदै हल्जुरे, शालिजाको तारे–जलजला पुग्न सकिन्छ भने पर्वतको वारीबेनीबाट १ घण्टा ३० मिनेटमा मल्लाज लेखफाँट कालोपत्रे सडक हुँदै शालिजाबाट जलजला पुग्न सकिन्छ ।