मुनामा राष्ट्रिय परिचयपत्र वितरण सुरू, परिचयपत्र लिन बेनी आउनुपर्ने बाध्यताको अन्त्य

0
29

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा शनिबार राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तरगत पहिलो चरणमा धवलागिरी गापा वडा नंं ७, ताकमबाट सुरू गरिएको थियो।

शनिबार करिब ७० जनाले परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो ।‘जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनुभएकाको कार्ड वितरण भइरहेको छ, स्थानीय तहका जनप्रतिनिधिले समन्वय गर्नुभएको छ’ कम्प्यूटर अपरेटर खत्रीले भन्नुभयो ।

पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो । यो सुविधाले राष्ट्रिय परिचयपत्र लिनका लागि सदरमुकाम बेनी जानुपर्ने बाध्यताको अन्तय भएपछि स्थानीयबासीलाई सहज भएको वडा अध्यक्ष रोकाको भनाई छ ।

शनिबार मुना, आइतबार मुदी, सोमबार लुलाङमा परिचयपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । जिल्लाका ६ स्थानीय तहमध्ये धवलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा वितरणको योजना बनाएपनि जनशक्ती र उपकरणको अभावले अहिले धवलागिरीमा केन्द्रित भएको प्रजिअ ढकालको भनाई छ ।

‘हामीले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाएका छौ’ प्रजिअ ढकालले भन्नुभयो । राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजार भन्दा बढी परिचयपत्रको कार्ड वितरण हुन सकेको छैन ।

जिल्ला प्रशासनमा हालसम्म करिब ३० हजार राष्ट्रिय परिचयपत्र तयार भएको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ ।