डरलाग्दो भिरमा स्थानीयले बनाए पदमार्ग

0
28

म्याग्दीको मालिका गाउँपालिका–३, सिउदीभिरदेखि औल जाँदा स्थानीयले जोखिम मोलेर भीरमा यात्रा गर्नुपर्ने बाध्यता थियो। पैदलमार्गमा घाँस समाउँदै ज्यानको बाजी राखेर हिँड्नुपर्ने बाध्यताको अन्त्य स्थानीयले पदमार्ग निर्माण गरेपछि हटेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जोखिमपूर्ण भिर थिचोल्दै सिउदीभिर–डाँडागाउँ औलसम्म फराकिलो मापदण्डअनुसारको पदमार्गमा ३ सय मिटर सोलिङ गरी सुख्खा पर्खाल बनाएर १ सय २ सिँढी बनाएसँगै स्थानीयलाई निकै सहज भएको उपभोक्ता समितिका अध्यक्ष रेमन पुनले बताउनुभयो । ‘अब बालबालिका पनि सहजै हिड्न सक्छन्, थोरै बजेटबाट हामीले पदमार्ग नै बनाएका छौ’ अध्यक्ष पुनले भन्नुभयो ।

पाँच लाख ६७ हजारको लागतमा डाँडागाउँको सिउदीभिरदेखि औलसम्म १.५ मिटर चौडाईमा निर्मित नयाँ पदमार्गले आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाएको अध्यक्ष पुनको भनाई छ जोखिमपूर्ण बाटोबाट पैदलयात्रासँगै घाँसदाउरा गर्न समेत स्थानीयलाई सकस हुने गरेको थियो ।

पदमार्ग निर्माण क्रममा भिर काट्ने, सुख्खा पर्खाल लगाउने, सोलिङ्ग तथा सिँढी निर्माणजस्ता कठिन कार्यहरूमा स्थानीयको सक्रियताबाट सम्भब भएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले बताउनुभयो । कठिन भूगोलमा जोखिम मोलेर स्थानीयले बाटो बनाएपछि गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समेत धन्यवाद दिदैं सिमित स्रोतसाधनबाट भएको कामको प्रंशसा गर्नुभएको थियो ।