म्याग्दीको धार्मिक पर्यटनमा सघाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

0
1

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटनका लागि पूर्वाधार विस्तारमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञमा आउनुभएका मुख्यमन्त्री पाण्डले धार्मिक स्थलको प्रवद्र्धनका लागि पूर्वाधार आवश्यक रहेकाले सडक, धार्मिक पर्यटनसँग सम्बन्धित क्षेत्रमा सघाउने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेको बताउँदै त्यस क्षेत्रमा रहेका अन्य धार्मिक क्षेत्रको प्रर्बधनमा समेत सक्रिय हुने बताउनुभयो । धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताउनुभयो । पश्चिम नेपालमै पहिलो पटक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा गएको बैशाख १५ देखि सुरु भएको महायज्ञमा ३० गतेसम्म संचालन हुनेछ।

महायज्ञमा आइतबारसम्म १ करोडभन्दा बढी नगद संकलन भएको छ भने मन्दिर, गौसला तथा प्राकृतक आयूवेर्दिक चिकित्सालयका लागि स्थानीयबासीले जग्गा दान समेत गरेको वडा सदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

महायज्ञमा सदरमुकाम बेनी, छिमेकी बागलुङ, पर्वत तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने ज्यामरुककोटबासी पुग्नुभएको थियो। पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालले गर्नुभएको छ ।

गौश्वरा गोवद्र्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्री, महायज्ञ सम्पादन समितिका संयोजक तथा बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर क्षेत्री, आर्थिक संयोजक पुर्व वडा अध्यक्ष हिरा बहादुर थापा सहित स्थानीयको सक्रियतामा सुरु भएको महायज्ञबाट संकलित आर्थिकबाट तत्कालै भौतिक संरचना निर्माण सुरु गरिने छ ।

महायज्ञमा क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ ।त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ ।

जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ। ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमामहायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने छ । आगामी बैशाख ३० गतेसम्म हुने गोवर्धन बिराट महायज्ञमा जिल्लामा क्रियाशिल संघसंस्थाले समेत सामुहिक दान गरेका छन ।