मुस्ताङ लैजादै गरेको गुणस्तरहीन मासु जफत गरी नष्ट

0
20

म्याग्दीबाट मुस्ताङको सदरमुकाम जोमसोम ल्याउँदै गरेको गुणस्तरहीन राँगाको मासु सिमा क्षेत्रबाट घाँसा प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्डमा सञ्चालन हुने ना ७ ख ७२७० नम्बरको बसको डिक्कीमा दुई बटा बोरामा राखिएको १ सय १४ केजी राँगाको मासु जफत गरिएको थियो ।

घाँस प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय मुस्ताङले भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङमा समन्वय गरी चेकजाँच गर्दा खान अयोग्य प्रमाणित गरेपछि नष्ट गरिएको प्रहरी निरीक्षक बिशाल अधिकारीले बताउनुभयो ।उक्त मासु जोमसोमका ब्यवसायी देब तामाङले म्याग्दीका ब्यवसायीबाट ल्याएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञको कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सहित अन्य सरोकारवाला निकायको उपस्थितीमा नष्ट गरिएको थियो ।गुणस्तरहिन मासु ल्याउने ब्यवसायी तामाङलाई कानुन अनुसार कारवाही गरिने विज्ञ केन्द्रले जनाएको छ । जोमसोम बजारमा करिब २५ वटा मासु पसलका सञ्चालकलाई अस्वस्थ्यकर मासुले मानव शरीरमा रोग निम्त्याउन भन्दै व्यवसायीलाई मापदण्डहरु पालना गर्न पटकपटक सचेत गराउने गरिएको छ । मुस्ताङमा खपत हुने खसी, कुखुरा, राँगा, बंगुर र माछा जिल्ला बाहिरबाट आयात हुने गरेको छ ।