मालिकाधुरीमा ४ हजारबढी भक्तजनले दर्शन गरे, ९० हजार भेटी संकलन

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा वैशाख पूर्णिमामा करिब ४ हजार भक्तजनले दर्शन गरेका छन् । म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मन्दिरमा पदैल र यातायातका सवारीसाधनमा पुगेर भक्तजनले पूजआजा गरेको मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

‘अघिल्लो बर्षसम्म बास बसरे विहानै पूजा गर्नेको संख्या धेरै हुुन्थ्यो, यसपटक दिउँसोमा धेरै भक्तजन आउनुभयो’ अध्यक्ष पाइजाले भन्नुभयो । मन्दिरमा करिब ९० हजार दानभेटी संकलन भएकोमा भक्तजनले ल्याएको बोकाको बली दिने कार्यमा खटिएका सहित अन्य खर्च गरी बाँकी रहेको ६७ हजार ६४० रुपैयाँ समितिमा प्रतिनिधित्व गर्ने ठाडाखानीका सदस्यलाई जिम्मा लगाइएको छ। उक्त भेटीबाट मन्दिरमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा खर्च गरिन्छ ।

मन्दिरमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, रघुगंगा गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी सहितको टोली समेत मन्दिरलाई सामुहिक प्रयासमा अगाडी बढाउने प्रतिबद्धता जनाएका थिए । एउटै थुम्कोमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले सडक सञ्जाल विस्तार गरेकाले करिब एक घण्टाको पैदलयात्रामा पुगिन्छ ।

Previous articleदक्षिण कोरियामा पहिलोपटक प्रोढ भलिबल हुने
Next articleपर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु