गौश्वाराको गोबर्धन महायज्ञ आज समापन हुने

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक सञ्चालित गोवर्धन महायज्ञ आज मंगलबार समापन हुदैछ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि सुुरु भएको महायज्ञ ३० गते आज मंगलबार सदरमुकाम बेनीबजारमा फुलप्रसाद ग्रहण तथा यज्ञस्थलमा मन्दिरको शिलन्यास गरी समापन गरिने छ ।

महायज्ञबाट संकलन भएको आर्थिकबाट ३८ फिटको गोबर्धनको मुर्ती निर्माण गरिने महायज्ञ मुल आयोजक समितिका आर्थिक सयोजक एवम् वडा नं २ का पूर्व वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

महायज्ञमा दान दिइएको जग्गामा आयुवेर्दिक चिकित्सालयका लागि जुडीबुटी केन्द्र, स्थानीय गाईको प्रर्वधनका लागि गौशला, पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दिर्घ रिजालले जानकारी दिनुभयो ।

महायज्ञका प्रमुख वाचक आचार्य सुदर्शन बडालले गर्नुभएको थियो ।बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको हो ।

Previous articleपर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु
Next articleसडक, यातायातको सुविधासँगै मालिकाधुरीको यात्रा सहज बन्यो