म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

0
3

बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् ।

पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा भोजबहादुर थापा (कुमार) सहसचिवमा मनमाया बिक (प्रेरणा) र कोषाध्यक्षमा दुर्गा छन्त्याल (झरना) रहनुभएको छ । प्रेम गिरी (अबिरल) र गोविन्द पुन (गोविन्द सि) सदस्य रहनुभएको संस्थाको आगामी मंसिरमा प्रथम साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय भएको छ ।

पुर्व जनमुक्ति सेनाहरुलाई संगठित गरि समाजमा उनिहरुको योगदान र भूमिकाको बारेमा जानकारी गराउने, राजनीतिक परिवर्तनमा योगदान गरेका जनमुक्ति सेनाहरुको विषयमा फैलाइएका नकारात्मक धारणा हटाउन सचेतना अभियान चलाउने, विभिन्न सामाजिक र रचनात्मक क्रियाकलाप गर्ने तथा अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले संस्था गठन गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

सामाजिक उद्देश्यले गठन गरिएको संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने र सबै राजनीतिक बिचारमा आवद्ध पुर्व जनमुक्ति सेनाका सदस्यहरुलाई आवद्ध गराउने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेकपाका पोलिटब्युरो सदस्य धु्रब घिमिरे (विप्लप), माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, माओवादीका प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।