विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापकलाई कारबाही

0
8
debilal sharma - 1

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखराका एक जना उपप्राध्यापक विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् । क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् ।

डा. शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए । यसपछि पीडित विद्यार्थीले उपप्राध्यापक शर्मामाथि कारबाही हुनुपर्ने माग क्याम्पस प्रशासनसामु राखे । यस घटनालाई लिएर क्याम्पसमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, दलित विद्यार्थी समाज, तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराए ।

घटनाबारे बुझेपछि क्याम्पस प्रमुख पाठकले शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट विशेष परिस्थितिका कारण हटाइएको पत्र थमाएका हुन् । वैशाख २६ मा विभाग प्रमुख बनेका डा. शर्माको जिम्मेवारी ५ दिनमै खोसिएको हो ।उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग छ ।

दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले शैक्षिक स्थलमा जातीय विभेदका घटना पटक-पटक हुनु आपत्तिजनक भएको बताए । डा. शर्मालाई बर्खास्त गरिनुपर्ने उनले माग गरे । निष्कासनको सिफारिस गर्न क्याम्पस प्रशासनले तदारुकता नदेखाए स्ववियुले यो मुद्दालाई गम्भीर ढंगले लिने स्ववियु सचिव विराट दुवाडीले बताए । दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसले डा. शर्माविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएको छ। उजुरी दर्ता अघि समाजले क्याम्पस प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।