शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि भएको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन कार्यक्रमलाई सन्तुलनमा ल्याउन शिक्षकहरूलाई आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा अघिल्लो वर्षको चैत महिनामा काठमाण्डौ केन्द्रित पेशागत आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई पूर्ति गर्न विद्यालयको आवश्यकतानुसार हिउँदे वा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनमा शिक्षक र विद्यालय कर्मचारीको सहभागिता भएका कारण देखिएको विद्यालयको प्रशासनिक चुनौती समाधान गर्न कानूनी र व्यवस्थापकीय उपायहरू अवलम्बन गर्नुपर्ने उल्लेख छ ।
आन्दोलन टुङ्ग्याएर सबै जना पेशागत कार्यमा फर्किएको अवस्थामा उनीहरूको निरन्तर सक्रियता र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सबै पालिका, विद्यालय र सरोकारवाला निकायहरूलाई समन्वय, सहकार्य र सहजीकरणमा विशेष भूमिका खेल्नसमेत अनुरोध गरेको छ ।