विगत ३२ वर्षयता म्याग्दीको ऐतिहासिक स्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनबढी कुवा र पधेराहरु नासिएका छन् ।तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली थुम मानिएको ज्यामरुककोटमा १७ औँ शताव्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरुको अहिले नामोनिसान मेटिएको स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन् ।
त्यसका साथै स्थानीयले पानीको स्रोत खोजी गरि निर्माण गरेका २० ओटा भन्दा बढी कुवा र पधेराहरु गाउँ गाउँमा मोटरबाटो र विकासका अन्य पूर्वाधारहरु निर्माण गर्ने क्रममा नासिएका ज्यामरुककोटका ८५ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
“२०५० सालसम्म गौश्वारा,तमाने,सानालेख,भकुण्डे,फापरखेत,रोहोटे,खबरा,बगरफाँट लगाएतका ठाउँहरुमा देखिएका कुवा र पधेराहरुको अहिले नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पधेराहरु पनि पुरिन थालेका छन्” उहाँले भन्नुभयो । “खानेपानीको संकट बढ्दै गएको छ तर सयौं वर्ष पहिले निर्माण गरिएका कुवाँ र पधेराहरु भने नासिदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो”उपाध्यायले भन्नुभयो ।
बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता,जैविक विविधता,ऐतिहासिक सम्पदाहरुले सम्पन्न भएकोले पछिल्लो समय भ्रमणका लागि यहाँ आएने पर्यटकहरु बढ्न थालेका ज्यामरुकोटका स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार गाउँगाउँमा मोटरबाटो लगाएतका अन्य विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि कुवा,पधेरा लगाएतका प्राचिन सम्पदाहरु नासिदै गएका हुन् । ज्यामरुककोटको फापरखेत घर भै हाल काठमाण्डौंमा बस्दै आउनुभएका डा.भविन्द्र घिमिरे (भवभिन्न) ले वाल्यकालमा आफूले पानी बोकेका,नुहाएका र कपडा धोएका कैयौं कुवाहरु अहिले नरहेका बताउनुभयो ।
“मैले आँफै प्रत्यक्ष देखेका र पानी उवाएर खाएका ढाँडपानीको उपल्लो कुवा, ढाँडपानीको तल्लो कुवा, डौँडाराको कुवा,माझथरको कुवा,सात्ले पानीको कुवा अहिले मोटरबाटोले पुरेको छ” उहाँले भन्नुभयो “यी कुवाहरुका साथै नाङ्लाको कुवा,गरापानीको तल्लो कुवा,गरापानीको उपल्लो कुवा,खेतघरपरिको कुवा,कोटको कुवा,रोहोटेको कुवा,पानी खोरको कुवा,बिरायाको कुवा,सानालेख कुवा,तमाने कुवा,गौश्वारा कुवा,कमेरे पानीको कुवा,ठुलो पँधेराको कुवा,सिमे कुवा,मजुवाको कुवा,दारिमपाट, पीपलडाँडा, अम्बोट र बगरफाँटको कुवाको नामोनिसान मेटिएको छ ।”
ज्यामरुककोटबासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक वितिसकेको छ । रहेबचेका केही कुवाहरु पनि जीर्ण अवस्थामा रहेका छन् । ती कुवाहरुको संरक्षण गर्न कसैको पनि चासो नगएको र त्यस्तो महत्वपूर्ण सम्पदाहरु अहिले अलपत्र अवस्थामा रहेका अर्जन मावि भकुण्डेका पूर्व प्रधानाध्यापक टीकाबहादुर कार्कीले बताउनुभयो ।
नेपाल एकिकरण हुनुपूर्वको तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली भूगोल भित्र समेटिएको यस क्षेत्रमा विकासको नाममा प्राकृतिक र ऐतिहासिक सम्पदाहरुको नास हुँदै गएकाले पाको पुस्ता चिन्तित बेनी नगरपालिका २ खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
सम्पदा संरक्षणको चेतना विकसित नहुँदा ज्यामरुककोटका मात्रै होइन जिल्लाका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक,पुरातात्विक,प्राकृतिक र धार्मिक महत्वका सयौं वर्ष पुराना सम्पदाहरु लोप हुँदै जान थालेका उहाँले बताउनुभयो। कुवा र पधेरा मात्रै होइन गाउँघरबाट देवल,मुर्ति,चौतारी,पोखरी,मठ,मन्दिर, ढिकी जाँतो,घट्ट,ठेकाठेकी,घुमाउने घर, ढुङ्गे धारा लगाएतका कैयौं रैथाने सीप र ऐतिहासिक सम्पदाहरु हराएर गएका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “सन्तानहरुले आफ्नै पुर्खाका पाइलाका डोबहरुलाई विर्सेका छन् । खर र ढुंगाले छाएका घरका धुरीहरु भत्केका छन् । पींडि र आँगनमा झार बढेर झाडी बनेका छन् । वाँझै रहेका खेतबारीमा बनमारा र उन्यू भm्याङ्गिएको छ ।
कंक्रिण र फलामे रडका भवन ठडिएका छन् । सडक बनेर मोटर गुडेका छन् । तर,गाउँलेहरु भने खुसी भएका हुन् की दुःखी भएका हुन् छुट्टाउनै नसकिने अवस्थामा देखिन्छन ।”
१७ औं शताब्दीदेखि वस्तुविनिमयको प्रमुख व्यापारिक केन्द्र रहेको म्याग्दीमा पहिलो पटक तत्कालिन पर्वते राजा राजबमले व्यापारिक अक्कल लगाएका ऐतिहासिक तथ्य रहेको छ । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए ।खानीहरु सञ्चालनमा आए ।
ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले । तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन,नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकास निर्माणका सामानहरुको व्यापारिक केन्द्र नै बनेको छ । तर अहिले यहाँको अवस्था फेरिएको छ । पैदल हिड्ने बाटोको नामोनिसान छैन । फराकिलो सडक बनेको छ । सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन् ।