प्रथम एसईई कप फुटसलको उपाधि बेनी सामुदायिक माविको पोल्टामा

0
14

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम एसईई कप फुटसल प्रतियोगिताको फाइनल खेलको उपाधि बेनी सामुदायिक माविले जितेको छ । शनिबार रसआवर फुटसल मैदानमा भएको फाइनल खेलमा ट्राइबेकरमा बेनीले आयोजक चिल्ड्रेन लाइफलाई पराजित गरेको हो ।

निर्धारित समयमा ५÷५ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चिल्ड्रेनविरुद्व बेनीले २–३ गोल गर्न सफल भएपछि उपाधि हात पारेको हो ।

खेल जितेको बेनीले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । चिल्ड्रेन लाइफले ८ हजार रुपैयाँमा चित्त बुझायो । फाइनल प्रवेशका लागि चिल्ड्रेनले रुद्रे पिपल मावि र बेनीले आदर्श विद्यामन्दिरलाई पराजित गरेको थियो ।

खेलमा सर्वाधिक गोलकर्ता चिल्ड्रेनका निसान बुढामगर घोषित भए । १० टिमले भाग जनाएको दुइ दिनसम्म चलेको प्रतियोगितामा बुढामगरले सर्वाधिक १० गोल गरेका थिए । सर्वोकृष्ट खेलाडी बेनीका अनिल बुढा र उत्कृष्ट गोलकिपर पनि बेनीकै सन्दिप केसी घोषित भए । क्लबले हरेक वर्ष एसईई दिएका विद्यार्थी माझ यस्तै प्रकृतिको खेल खेलाउने भएको संरक्षक नवराज श्रेष्ठले जानकारी दिए ।