बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि संरक्षणका लागि नदीमा एक्साभेटर प्रयोग गरिएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाले बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका ९ गलेश्वरस्थित रघुगङ्गा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल र बस्ती संरक्षणका लागि रघुगङ्गा नदीमा भारी मेसिन (स्काभेटर) को प्रयोग गरी काम भइरहेको छ ।
बेनी–गलेश्वर सडकखण्डमा कालिगण्डकी नदीको संरक्षणका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्नेमा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा झनै जोखिममा परेको छ ।
विगत एकदशक यत नेपालमा उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजारमा नदी नियन्त्रणको बाहनामा नदीको तिब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा समेतसरोकारवाला निकाय मौन बसेका छन् ।
नदी आसपासमा रहेका साना ढुंगाको प्रयोग गर्ने बाहनामा गलेश्वरदेखि दोभानसम्म नदीको दोहान भइरहेको छ । नदी कटान संरक्षणका लागि स्काभेटरको प्रयोग गरी नदीमा भइरहेको दोहान रोक्न स्थानीयबासीले अनेक प्रयास गर्दा समेत अटेर गर्ने गरिएको बेनी नगरपालिका वडा नं ८ का हिमबहादुर भण्डारीले बताउनुभयो ।
‘नदीको ढुंगा निकालेर नै संरक्षण गर्न कार्यले झनै जोखिम बनाएको छ, सरकारी निकायको नियमित निगरानी आवश्यक छ’ भण्डारीले भन्नुभयो । संरक्षणका लागि करोडौं बजेट खन्याएपनि कालिगण्डकीमा मानवसिर्जित कमजोरीले हरेक बर्खामा सडक कटान हुने गरेको छ । नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ ।
नदीको ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्ने भएकाले टेन्डर प्रक्रियामै नदीमा संरक्षणको कामका लागि अन्यत्रबाट ढुंगा लगायतका निर्माण साम्रागी ल्याउने प्रावधान राखेर कडा निगरानी आवश्यक रहेको प्राविधिक पक्षको भनाई छ । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने भएपनि मनपरीले जोखिम निम्त्याएको प्राविधिक पक्षको तर्क छ ।
बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा जथाभावी नदी किनाराका ढुंगा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, पूर्वाधार कार्यालयमा समेत पु्गेर गुनासो गर्ने गरेका छन् । विगतमा बेनीबजार संरक्षणका लागि नदीलाई डाइभर्सनको बाहनामा दोहन गरिदाँ स्थायी संरचनामै क्षती पुगेको थियो ।
ग्याविनजाली लगाउने ठाउँदेख वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिले नै नदी कटानलाई कारण बन्ने गरेको छ । नदीका ठूल्ठूला ढुङ्गा निकालेर टुक्राटुक्रा बनाई ग्याबियन लगाएर संरक्षण होइन झन् विनाश निम्तिएको छ । बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले मापदण्ड अनुसार काम गर्ने सरोकारवाला निकायलाई सचेत बनाइएको बताउनुभयो ।