म्याग्दीको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चामबहादुर पुनको जीवनीमाथि पत्रकार अमृत भादगाउँलेले बनाएको वृत्तचित्र मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ। करबाकेली क्षेत्रको धार्मिक, सामाजिक एवम् पर्यटन विकासमा समर्पित लाहुरेको कथामा आधारित वृत्तचित्र ‘चामबहादुर पुन, एन एक्जेप्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’को मङ्गलबार काठमाडौंमा प्रदर्शन गरियो।
समाजसेवी पुनले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्। त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन्। त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरिएको छ ।
पुन समुदायको पहिचानसँग जोडिएका यी सबै कामको नेतृत्व चामबहादुरले गरेका हुन्। उनको अगुवाईमा स्थानीयको सहयोगमा सबै काम भएका हुन्।
सामाजिक अभियन्ता पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेण्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।
यी सबै काम वृत्तचित्रमा दृश्याङ्कन गरिएको छ। राधा पुनको निर्माण, भवानी शिलाकारको सिनेम्याटोग्राफी, जी पुनको संगीत र सुदीप श्रेष्ठको सम्पादन रहेको वृत्तचित्र १७ मिनेट लामो छ।
मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यमा भएको वृत्तचित्र प्रदर्शन कार्यक्रममा अन्सारी सहित निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, चलचित्र निर्देशक रवी सायमी, सामाजिक अभियन्ता पुन र लेखक शेखर खरेलले सम्बोधन गरेका थिए। प्रेरणादायी वृत्तचित्रले जन्मलोलाई माया गर्न सिकाउने उनीहरूले बताए।









