अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास। मालिका,रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा रघुगंगा गापा-६,पाखापानीकी थममायाँ पाईजा मन्दिर बनाउन जंगलमै बास बसिरहेकी छन् ।
म्याग्दी जिल्लाकै प्रख्यात धार्मिकस्थल मालिकाधुरीमा विहानैदेखि अबेरसम्म मन्दिर निर्माणमै ब्यस्त हुन्छिन् । हिउँ कुल्चिदै मालिकाधुरीमा उक्लिएकी रेशु पाईजाले पनि जंगलमै बास बसेर मन्दिर बनाउन लागेको ५ महिना पुग्यो ।
परिवारको एकल लगानीमा स्थानीयलाई नै रोजगारी दिएर आमाछोरीले मालिका, कालिका,जालपा, शिव मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । मालिकाधुरीमा दिनरात नभनी मन्दिर बनाउन खटिएकी थममायाँलाई अमेरिकामा रहेका श्रीमान मोतिबहादुर पाईजा (भक्त)ले साथ दिएका छन् ।
मन्दिर बनाउन अहिलेसम्म २२ लाख खर्च भएको र अब ३ लाख खर्च हुने अनुमान गरिएको थममायाँको भनाई छ । ‘मालिकाधुरीको जंगलमा रात वितेको धेरै भयो, अब हाम्रो परिवारको सपना पूरा हुदैछ’ थममायाँले भनिन् ।
त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि मालिकाधुरी पुग्ने गरेकोमा अहिले मन्दिर तथा आसपासका क्षेत्रमा भक्तजनलाई सहज हुने गरी काम गरिरहेको बताइन् । मन्दिर नजिकै चट्टानमा गणेशको मन्दिर समेत मर्मत गरिएको छ । घरायसी काम तथा रासनपानी ल्याउन आमाछोरी आलोपालो गाउँ जान्छन् ।
बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे जाडोयाम, मुसलधारे बर्सात सहितको चट्याङ, बन्यजन्तुको समेत प्रवाह नगरी आमाछोरीले मन्दिर बनाउन थालेपछि मन्दिरमा पुग्ने भक्तजनहरू समेत दंग छन् । ‘मन्दिर बनाउँदै गर्दा धेरै भक्तजनले खुसी मान्नुभएको छ, उहाँहरूको मनोकामना पूरा होस् भन्दै प्रार्थना गछौं’ छोरी रेशु पाईजाले भनिन् ।
उनले आमाबुबाको मन्दिर बनाउने योजना बनाएपछि साथ दिएको बताइन् । उनले दैनिकजसो मन्दिरमा भइरहेको काम अमेरिकामा बुबालाई भिडियो र फोटो पठाउँछिन् । मन्दिरसँगै आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन आगामी दिनमा पनि श्रमदान गर्ने बताइन्। मालिकाधुरीम नयाँ मन्दिर बनेपछि अहिले चिटिक्क देखिएको छ । मन्दिर बनाउन जंगलमा बसेर आमाछोरीले गरेको काम निकै प्रशंसनीय रहेको रघुगंगा गाउँपालिका–६,का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।
‘उहाँहरूको लगानी र मेहनतको जति नै प्रशंंसा गरेपनि कमी हुन्छ, धार्मिक क्षेत्रका लागि धेरै गर्नुभएको छ’ गाउँपालिकाका प्रबक्ता समेत रहेका शेरपुञ्जाले भने । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा बर्षेनी आउने भक्तजनलाई सडक सञ्जाल, सत्तल सहितको सुविधाले सहज भएको छ ।
मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ । मन्दिरबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।
मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाका अनुसार चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीकामा पूजाआजा हुन्छ। एकदशक अगाडीसम्म पूजाआजाका लागि पुग्ने भक्तजन ओढार र खुल्ला आकाशमा रात विताउने गरेकोमा अहिले सत्तल,खानेपानी र शौचालयको सुविधाले सहज भएको छ ।
कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ। विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मालिकामा सामान्य मन्दिर बनाइएको थियो । मालिका र रघुगंगा गाउँपालिकाले एकसाथ मालिकाधुरीलाई लक्षित गरी सडक सञ्जाल विस्तार गरिरहेको छ ।
रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब डेढघण्टाको यात्रा गरेपछि मालिका पुगिन्छ ।