दरबाङका ६ वटा अवैध औषधि पसल बन्द

0
29

अवैधरुपमा सञ्चालन गरेको भन्दै म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङका ६ वटा औषधि पसललाई ’सिलबन्दी’ गरिएको छ । बुधबार मालिका गाउँपालिकाले गरेको अनुगमनमा बिना दर्ता सञ्चालनमा रहेको औषधि पसललाई बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की सहितको टोलीले गरेको अनुगमनको क्रममा औषधि पसल दर्ता नभएको, औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणका बारेमा जानकारी नराखेको देखिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

‘बजारदेखि ग्रामिण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसल बन्द गछौं, अनुगमनलाई तिब्रता दिन्छौ’ स्वास्थ्य संयोजक कार्कीले भन्नुभयो । अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधि ब्यवस्था विभाग, गाउँपालिकामा दर्ता नभएका औषधि पसललाई कडाई गरिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गर्बुजाले कानुनी प्रक्रिया पूरा नगर्ने,अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकले प्रेसक्रिप्सन (पुर्जा)मा बिरामीलाई औषधि दिने गरेको गुनासोका आधारमा अनुगमन सुरु गरिएको बताउनुभयो।

मालिका गाउँपालिकाले ७ वटै वडामा रहेका अवैध औषधि पसलको विवरण संकलन सुरू गर्ने जनाएको छ । म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा औषधि ब्यवस्था विभागमा दर्ता भएका करिब १५ वटा औषधि पसल रहेका छन् । म्याग्दीमा विना दर्ता सञ्चालित औषधि पसलले बिरामीको उपचार समेत गर्ने गरेको पाइन्छ ।