मुस्ताङबाट एकैदिनमा पुगिन्छ तिलिचो ताल

0
24

विश्वकै सबैभन्दा अग्लो स्थानमा मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९,मा पर्ने तिलिचो तालमा मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट एक दिनमै पुग्न सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटकको आर्कषणको केन्द्र मानिएको तिलिचोमा पुग्न मुस्ताङको भ्रप्सोसम्म सडक सञ्जाल पुगेपछि त्यहाँबाट पैदलयात्रा गरी तिलिचो तालसम्म पुग्न सहज भएको हो।

ठिनी गाउँबाट करिब १६ किलोमिटर सवारीसाधनको यात्रा गरी भ्रप्सोसम्म आइपुगिन्छ। त्यहाँबाट करिब ७ घण्टा पदैलयात्राबाट तिलिचो ताल पुगिने ठिनीका स्थानीय यूवा निरज थकालीले बताउनुभयो । पर्यटन ब्यवसायी थकाली भन्नुहुन्छ,‘‘अहिले तिलिचो ताल पुग्न मुस्ताङबाट निकै सहज छ, पदयात्रा गरिरहेकाहरू सवारीसाधन र पदैलमार्गबाट एकैदिनमा तिलिचो पुगेर फर्किएका धेरै हुनुहुन्छ ।’’

सवारीसाधनबाट माथिल्लो क्षेत्रसम्म पुगिने र पदैलयात्राका लागि समेत सहज भएपनि पहिलोपटक यात्रा गर्दा लेक लाग्ने समस्यालाई मध्यनजर गरी छोटो दुरीको प्याकेजमा १ दिने र लामो दुरीका लागि ३ दिनको तयारी गरी यात्रामा निस्किदा सहज हुने ठिनीका यूवा आसिम थकालीले बताउनुभयो।

तिलिचो तालको अवलोकन गरेपछि फर्किनेलाई केहीदिन अगाडी एक्याप जोमसोमले समुन्द्री सतहदेखि चार हजार ५४५ मिटर उचाइमा पर्यटक आश्रयस्थल बनाएको छ । हिमालको काखैमा बसेको अनुभुति हुने गरी बनाइएका आश्रयस्थलमा बसेर फर्किने पर्यटकहरूको संख्या पनि उत्तिकै छ ।

पदमार्गमा खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिका, प्रदेश, एक्यापबाट भइरहेको पूर्वाधार विस्तारको अभियानले समेत पर्यटकलाई थप सहज भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो,‘‘मुस्ताङबाटै तिलिचो जाने पर्यटकलाई कुनै समस्या हुन नदिने गरी पूर्वाधार बनाउन केन्द्रित भएका छौ, अहिलेको पर्यटकको आगमन लोभलाग्दो छ ।’’ तिलिचो तालमा जाने स्थानमा संकेत चिन्ह, दुरी सहित अन्य जानकारीमुलक बोर्डले समेत सहज भएको अध्यक्ष लालचनको भनाई छ ।

मुस्ताङबाट पछिल्लो समय धार्मिक तिर्थयात्रु समेत पुग्ने गरेका छन् । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीका कारण मुक्तिनाथ मन्दिरको दर्शनका लागि आएका धार्मिक पर्यटक जल लिनका लागि समेत पुग्ने गरेको पाइन्छ ।

तिलिचो जाने पदमार्गमा पर्ने ठिनी गाउँ, हिमचितुवाको गुफा, कृषकको दैनिकी, भेडाच्याङग्रा, चौरीको बथानका साथै ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, नमखु लेक, ह्यारझु भ्यू प्वाइन्ट, थकाली जातिको कला र संस्कृतिका साथै निलगिरी सहित हिमश्रृंखला लगायत प्राकृतिक सौन्दर्ययुक्त दृष्यावलोकन गर्न पाइन्छ । तिलिचोमा असोज देखि मंसिर महिना र फागुनदेखि जेठ महिनासम्म धेरै पर्यटक मुस्ताङ हुदै यात्रा गर्ने गरेका छन् ।