न्यू वेष्ट प्वाइन्ट र लिटिल गार्डेनमा बालबालिकाहरुको पोषण लेखाजोखा

0
4

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा बिहीबार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । लिटिल गार्डेन एकेडेमीका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बेनी नगरपालिका ८ नम्बर वडाका वडा सदस्य यामबहादुर बानियाँले उद्घाटन गर्नुभएको थियो ।

मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मिलन संस्थाका अध्यक्ष दिलमाया बिटालुले कार्यक्रममा स्वागतसँगै उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बालबालिकाको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रमको मिलन म्याग्दीका अध्यक्ष बिटालु र पोषण विज्ञ बालकुमारी पुनले बालबालिकाहरुको स्वास्थ्यमा पोषणको लेखाजोखा गर्नुका साथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडानम्बर ८ का वडा सदस्य नरु थजाली, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले बालबालिकाहरुको स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजालाई पोसिलो बनाउने तरिकालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।

यसैगरी बुधवार न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पनि बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका भाइस प्रिन्सिपल सरोज लकान्द्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नरु थजालीको विशेष उपस्थिति रहेको थियो । दुवै विद्यालयको कार्यक्रममा विद्यालयका अभिभावक तथा बालबालिकाहरुले उल्लेख्य सहभागिता जनाएका थिए ।