---Advertisement---

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड

On: May 24, 2025 9:33 PM
Follow Us:

पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ ।

उनलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समूह गण्डकीको सह-आयोजनामा भएको कार्यक्रममा म्याग्दीकी देवीसहित अन्य दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सञ्चारिका समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी र पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मालाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको थियो । उनीहरूलाई बीस/बीस हजार रुपैयाँ प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूले नेताको गुण गाउने नभएर सरकारका चुनौती र समस्यालाई उजागर गर्नुपर्ने बताएका छन् ।

पत्रकार तथा मिडिया हाउसले राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । “पत्रकारले सरकारका राम्रा पक्ष देखाउनु राम्रो हो तर सरकारका गल्ती कमजोरीलाई पनि उजागर गर्नुपर्छ,” उनले भने, “पत्रकारिताले आलोचना मात्र होइन, समाधानमुखी सोच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ ।” सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरू महिलामैत्री हुनुपर्नेमा जोड दिएकी छिन् ।

उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन्। उनले महिला पत्रकारका अवस्थाका बारेमा जानकारी दिएकी थिइन् । प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्टिङ अपरेसन पत्रकारिताको आचारसंहिता भित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादामाथि प्रश्न उठाउने धारणा राखेका छन् ।

पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको उनको भनाइ छ । जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास नहुनुका साथै नैतिकता भित्र पनि नपर्ने लामिछानेले बताए । गलत वा भ्रामक सामग्री प्रकाशित भएमा सञ्चारमाध्यमले क्षमा माग्नुपर्ने लामिछानेको स्पष्ट भनाइ छ । उनले भने, “गल्ती स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारीबोध हो ।

पत्रकारिता विश्वासको व्यवसाय हो, र यो विश्वास कायम राख्न सञ्चारमाध्यमले आफूले गरेका त्रुटिप्रति जवाफदेही हुनुपर्छ ।” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सञ्चार ऐन ६० वर्ष पुरानो कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समयसापेक्ष बनाउनु आवश्यकता रहेको औंल्याए । प्रविधिले फड्को मारेको अवस्थामा पनि सञ्चार ऐन, कानुन परिमार्जन गर्न नसक्नु लज्जास्पद रहेको उनको भनाइ छ ।

मिडिया हाउसको नियमित अनुगमन भएमा पत्रकारिताको गुणस्तरमा सुधार आउनुका साथै भ्रामक र अनैतिक सामग्रीको प्रकाशनमा रोक लगाउन सकिने उनले बताए । कार्यक्रममा प्रेस रजिस्टार गण्डकीकी प्रमुख विमला भण्डारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पाैडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले बोलेका थिए । कार्यक्रममा गण्डकीका ७५ जना पत्रकारको उपस्थिति थियो ।