---Advertisement---

तिजी पर्वमा उर्लियो उपल्लो मुस्ताङ

On: May 25, 2025 8:30 AM
Follow Us:

मुस्ताङको लोमान्थाङमा शनिबारदेखि १५ औं शताब्दीको एँतिहासिक, सांस्कृतिक ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बासोबास गर्ने विष्ट,लोवा, गुरूङ जाति लोमान्थाङ दरबार अगाडी बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरी तिजी मनाउन सुरू गरिएको हो ।

तिजीको पहिलो दिन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषाल,विभिन्न देशका राजदुत सहित स्वदेशी तथा विदेशी पर्यटकको जमघट रहेको छ ।

आशा र शान्तिको कामना गर्दै सुरू भएको पर्वको पहिलो दिन जमिनका देवीदेवताको पूजाआराधना गरिन्छ भने दोश्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य, लामा र भिक्षुहरूले धार्मिक पूजाका साथै देवीदेवताका मुकुट पहिरिएर नृत्य र तेश्रो दिन राक्षसलाई धपाएको अभिनय लगायत धार्मिक गतिविधि गर्ने गरिएको छ । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडेर हेरिने गरिन्छ ।

तिजीमा धर्मगुरु पद्यसम्वा रिम्पोछेको तस्बिर अंकित ठूलो आकारको थाङको प्रर्दशन गरिएको छ । करिब साढे दुईतले घर बराबरको उचाईको थाङका तिजीको अवसरमा सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राखिने गरिएको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाश केसीले बताउनुभयो । तीनदिनसम्म मनाइने पर्वको अवसरमा प्राकृतिक प्रकोप, रोगव्याधी, अनिकाल, महामारीजस्ता अनिष्ट नहुन भन्दै लामाले प्रार्थना गरिन्छ । पर्वमा लामा नाच, मुकुट नाच प्रमुख आर्कषण रहेको छ ।

पर्वका अवसरमा एकआपसमा बर्षभरी भएका सुख–दुख, स्नेह साटासाट गर्ने, आफ्ना समस्या समाधान गर्ने, ग्रहदशाबाट मुक्त पाउन जिल्ला बाहिर रहेका उपल्लो मुस्ताङबासी समेत तिजीमै आउने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङ भन्नुहु्न्छ,‘‘दोर्जी सुनुले पुनर्जन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ ।’’ धार्मिक अभिलेखमा गाउँलेलाई अन्याय गर्नेहरू माथि प्राप्त विजयलाई समेत अर्को महत्वपुर्ण पक्ष रुपमा समेत तिजीलाई हेर्ने गरिन्छ ।

पर्वलाई निरन्तरता दिन नसकेमा निरन्तर समस्या उत्पन्न हुने, प्राकृतिक विपत्ति आउने, मनोकामना पूरा नहुने जस्ता समस्या देखिने किम्वदन्ती रहेकाले पनि प्रत्येक वर्ष यो पर्वमा सहभागिता जनाउन उपल्लो मुस्ताङीले आफ्नो नियमित काम छोडेर समेत दरबार अगाडी भेला हुन्छन् ।

तिजीमा ड्रम बजाएर प्रस्तुत गरिने लामा नाच यहाँको प्रमुख आर्कषण रहेको तिजीको अवलोकन गर्न पुग्नुभएका पर्यटक प्रकाश पौडेलले बताउनुभयो । तिजी विविध समस्याका कारण १९९२ देखि १९९४ सम्म रोकिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसका कारण दुई बर्ष नियमित पूजाआजा बाहेक सर्वसाधारणलाई भेला हुन नदिई मनाइएको थियो । तत्कालिन समयमा मुस्ताङीले समेत तिब्वतीलाई निम्तो दिएर तिजीमा बोलाउने गरेको समेत बुढापाकाको भनाई उद्धित गदैं स्थानीय अगुवा इन्द्रधारा विष्टको भनाई छ ।

पछिल्लो समय नाकामा कडाई हुन थालेपछि सहजै आवतजावत गर्न नपाएका तिब्वतीले टेलिफोनबाटै शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ ।

यसैबीच तिजी पर्व अवलोकनका लागि साढे दुई सयभन्दा बढी विदेशी पर्यटक सहित स्वदेशीको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका होटल भरिभराउ भएका छन् । मुस्ताङी २६ औं पुस्ताका सांस्कृतिक राजा झिग्मे सिङ्गे पलवर विष्ट तथा परिवारका समस्य समेत लोमान्थाङमै हुनुहुन्छ । माटोको पर्खालभित्र रहेको ७ वर्ष पुरानो दरबार, गुम्बा सहित प्राचीन सभ्यता नै लोमान्थाङको मुख्य विशेषता हो । तस्वीर सौजन्य विकाश केसी 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।