म्याग्दी क्याम्पसमा आईसिटी बुट क्याम्प तथा जवफेयर कार्यक्रम सुरु

म्याग्दीको सदरमुका बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सोमबारदेखि आईसिटी बुट क्याम्प तथा जवफेयर कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको सहयोग तथा समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सूचना र प्रविधिको क्षेत्रमा ध्यान दिएर काम गर्न सकेमा रोजगारीका अवसरहरु स्वदेशमै रहेकाले विदेशिनुनपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालहरुलाई सकारात्मक हिसाबले प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै सकारात्मक सोंचको विकासका साथै सामाजिक सञ्जालको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नगर प्रमुख केसीले अहिले नर्सरीमा भर्ना भएर पढिरहेका बालबालिकाहरु टिकटक हेरेर हुर्किरहेको बताउँदै आईसिटीको प्रयोग बढ्दै जाँदा सुरक्षा चुनौती पनि बढेर गएकाले ध्यान दिनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मन्त्रालयमार्फत पाइलट प्रोजेक्टका रुपमा आएको आईसिटी बुट क्याम्प कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएर तालिमलाई भरपुर उपयोग गर्न सुझाव दिनुभयो । उहाँले विदेशिने युवा विद्यार्थीलाई रोक्नको लागि पनि सरकारले आईसिटीका कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तोयानाथ लम्सालले मन्त्रालयबाट नवीनतम सोंच तथा विद्यार्थीकेन्द्रीत कार्यक्रमको रुपमा आईसिटी बुट क्याम्प तथा जवफेयर कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले अहिलेको समय सूचना र प्रविधिको युग भएकाले अब पछाडि फर्कन नसकिने बताउँदै आईसिटी बुट क्याम्प गरिखाने कार्यक्रमको रुपमा रहेको समेत बताउनुभयो । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले एउटा सानो सप्टवेयर निर्माण गरेर त्यसलाई पपुलर बनाएर बिक्री गर्न सकेको खण्डमा पनि धेरै कमाउन सकिनेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले पछिल्लो समय सूचना र प्रविधिले फड्को मारिरहेको अवस्थामा विद्यार्थीलाई प्रविधियुक्त र समयसापेक्ष बनाउनको लागि आईसिटी सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रम सामाजिक विकास कार्यालय प्रमुख सुवेदीको अध्यक्षता एवं स्वागत र नायब सुब्बा गोविन्द पुनको सञ्चालनमा सम्पन्न भएको थियो । १० दिनसम्म चल्ने यस तालिममा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदी, भोलानाथ घिमिरे, पशुपतिनाथ ढकाल, स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी क्याम्पसका सभापति संगम चोखाल क्षत्री, सचिव मन्जुर कटुवालसहित विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा आईसिटी र नेटवर्किङको क्षेत्रमा विज्ञता हासिल गर्नुभएका एक्सपर्टहरु सागर पौडेल, शिवशंकर साह, आनन्द पाठक र हरिहर पौडेलले सहजीकरण गरिरहनुभएको छ ।

वि.सं. २०४८ सालमा समुदायस्तरबाट स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाको सहयोग एवं समन्वयमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । क्याम्पसको स्नातक तहमा बिआईसिटीको छुट्टै कक्षा समेत सञ्चालन भैरहेको छ ।