संविधानका भाषा चुप छन्
संसदका मर्यादा चुप छन्
आँखा निःशब्द छन्,
बाहु थरथराएका छन्
हर जीवित ढोका बन्द छन्
हृदयमा आगो बलिरहेको छ
कसरी चुप लागूँ, साथी?
अहिले के भनूँ साथी?
जनताका नारा फुटिरहेका छन्
क्रान्तिका रगतले लेखिएका अक्षरहरू
जिन्दाबादको चपेटामा
हर सच्चाइ कुल्चिएका छन्
तिमी ऐना हेर, म पनि मेरो प्रतिबिम्ब सोध्छु, साथी!
अहिले के भनूँ साथी?
आज गणतन्त्र दिवस हो
तर यो त्यो गणतन्त्र होइन,
जुन हामीले कल्पना गरेका थियौं
हामीले न्यायको सपना देखेका थियौं,
तर यहाँ त अपराधीहरू छद्म अनुहारमा संसद् चढेका छन्
भ्रष्टाचार सम्मानित छ,
इमानदार गुमनाम छन्
लोकतन्त्र छ तर केवल चुनावसम्म
त्यसपछि जनता फेरि मौन गरिन्छन् ।
जुन बाटोमा विपी. हिँड्थे
गणेशमान, पुष्पलालजस्ता हिँडे
शुक्रराज, गङ्गालाल आदि हिँडे
उनीहरूले देखेको बाटो आज धुलाम्मे छ
तर मैले बिर्सेको छैन, साथी!
म उनीहरूजस्तै सोच्ने, हिँड्ने हिम्मत गर्छु, साथी!
युवाहरू अझै पनि बदलिन चाहन्छन्
तर देशको छातीमा संसद् होइन, सौदाबाजी बस्छ
गणतन्त्रको सपना टुँडिखेलमै थलिएर लडिरहेको छ
विद्यार्थीको आवाज सुनिँदैन,
न्यायको सूर्य हराइरहेको छ ।
तर, आमा नेपाल!
तिमी नडराऊ
हामी अझै बाँकी छौँ
हामी मौन छैनौँ,
हामी अझै कलम बोकेका छौँ
एक दिन आउनेछ जहाँ
न्यायले कपडा फेरेर होइन,
कर्म देखाएर बोल्नेछ
जहाँ जनताले आफ्नो आवाजबाट
आफैँ शासन बनाउनेछन्
यो दिवस,
गणतन्त्रको मूल्य सम्झाउने दिन हो
तर आज
यो हामीले चाहेको गणतन्त्र होइन!
हामी यही माटाबाट फेरि उठ्नेछौँ
आमा!
तिमी नडराऊ
तिमी फेरि मुस्कुराउनेछ्यौ ।
कल्याण सुवेदी