टिम्मुरखेतीबाट म्याग्दीका किसानको राम्रो आम्दानी

गाउँमा कतै टिम्मुरको बिरूवा रोपेर खेती गरिएको छ भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटको संरक्षण गरेर आम्दानी लिइरहेका छन्।आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ। यसको अचारले खानालाई स्वादिष्ट बनाउँछ। त्यसैले बजारमा आलो टिम्मुर प्रतिकिलो तीन सयदेखि पाँच सय रुपैयाँ र सुकेको टिम्मुर एक हजार पाँच सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुन्छ।

टिम्मुरको महत्त्व बुझेपछि किसानले व्यावसायिक खेती सुरु गरेका छन्। पाखोबारी मात्र होइन, खेतीयोग्य जमिनमा समेत टिम्मुर रोपेर किसानले वार्षिक २ लाख देखि ७ लाख रुपियाँसम्म आम्दानी गरिरहेका छन्।

जिल्लाका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको भकिम्ली, घतान, तोरीपानी, पात्ले खेतलगायत ठाउँमा व्यावसायिक टिम्मुरखेती भएको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले टिम्मुरखेती किसानको आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको बताए। उनको भनाइअनुसार जिल्लामा वार्षिक करिब तीन हजार किलो टिम्मुर उत्पादन हुन सक्छ।

अगुवा किसान लालबहादुर घर्तीले टिम्मुरलाई ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड’ भन्ने लोकोक्तिसँग तुलना गरे। उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्छन्। गत वर्ष टिम्मुर बिक्रीबाट चार लाख ८६ हजार रुपैयाँ आम्दानी गरेका घर्तीले यस वर्ष खेती विस्तार गरेका छन्।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह बनाएर टिम्मुरखेती विस्तार भइरहेको छ। जेठमा फल लाग्न सुरु हुने यो वनस्पति भदौ–असोजमा पाक्छ र सुकाएपछि बिक्रीका लागि तयार हुन्छ।

म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान छ। यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुन्छ। रासस