सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा काठ तथा दाउराको उत्पादन तथा वनमा आधारिक राजस्व घट्दै गएको छ भने वन क्षेत्र बढ्दै गएको छ। सरकारले वनको समुचित प्रयोग गर्ने र काठ उत्पादन बढाउने नीति भने जारी राखेकै छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु् पौडेलले प्रस्तुत गरेको बजेटअघि सार्वजनिक आव २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार काठ उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ।
सर्वेक्षणअनुसार २०८१ फागुनसम्म २ करोड २० लाख क्युबिक फिट काठ उत्पादन भएको छ। २०८१ फागुनसम्म २ करोड ४७ लाख १८ हजार क्युबिक फिट काठ उत्पादन भएको थियो। यसैगरी आव २०८०/८१ मा निजी र राष्ट्रिय वनबाट गरी कुल ३ करोड ७६ लाख ३४ हजार क्युबिक फिट गोलिया काठ उत्पादन भएको थियो।
आव २०७९/८० मा यस्तो काठ उत्पादन ३ करोड १८ लाख क्युबिक फिट थियो। यसैगरी २०८१ फागुनसम्म वनबाट १६ हजार २ सय ४० चट्टा दाउरा उत्पादन भएको छ। आव २०८०/८१ मा वनबाट ४८ हजार ४ सय ७४ चट्टा दाउरा उत्पादन भएको थियो।
सर्वेक्षणअनुसार चालु आवको फागुनसम्म वन क्षेत्रबाट १ अर्ब ६८ करोड राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा वनबाट ६ अर्ब ८८ करोड राजस्व संकलन गरिएको थियो। संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ, दाउरा तथा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार बिक्री र जरिवानालगायतबाट राजस्व उठाउने गरिएको छ।
वन क्षेत्रको समुचित र वैज्ञानिक प्रयोग हुन नसकेको विज्ञहरूको भनाइ छ। सोही कारण हरेक वर्ष काठ, दाउरा र वनबाट आधारिक राजस्व घट्दै गएको उनीहरूको भनाइ छ।
वन क्षेत्र भने हरेक वर्ष बढ्दै गएको देखिन्छ। वन मन्त्रालयका अनुसार सन् २०२४ मा नेपालमा वन क्षेत्र ४६ दशमलव ०८ प्रतिशतमा भूभागमा फैलिएको छ। सन् १९९० को दशकमा नेपालको वन क्षेत्र ३९ दशमलव ६ प्रतिशत थियो। वन क्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत थियो।
नेपालमा प्रतिव्यक्ति ०.२ हेक्टर वन क्षेत्र पर्छ। सर्वेक्षणअनुसार नेपालको भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र चुरे क्षेत्रमा ७३.६८ प्रतिशत रहेको छ भने सबैभन्दा कम जन क्षेत्र उच्च हिमालमा ३.४१ प्रतिशत रहेको छ।
वन मन्त्रालय अनुसार हाल नेपालमा वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४१ हेक्टर र झाडी–बुटपान क्षेत्रले ३ लाख ९७ हजार ९ सय १६ हेक्टर भू–भाग ओगटेको छ। यसमध्ये ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यान क्षेत्र छ।
नेपालमा ३४ हजार ४ सय २० वर्ग किमि संरक्षित वन क्षेत्र छ। यो कुल भूभागको २३.४ प्रतिशत हो। वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म १ लाख ९४ हजार १ सय ५६ हेक्टर वन व्यवस्थापन भएको छ। २०८१ फागुनसम्म २३ हजार ६ सय १ सामुदायिक वन उपभोक्ता समूह मार्फत २५ लाख ८ हजार ३ सय २६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।