यातायात व्यवसायीहरूको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । गण्डकी प्रदेशले राइड शेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित भएका हुन् ।
निजी गाडीलाई पनि यात्रु बोक्ने सुविधा दिँदा ठूलो लगानी भएको सार्वजनिक यातायात क्षेत्र समस्यामा पर्ने उनीहरूको भनाइ छ । गण्डकी प्रदेशका शहरहरूमा व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । आज पोखरामा अलपत्र परेका नौ सय जनालाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ‘स्कर्टिङ’ गरेर गन्तव्यमा पुर्याएकाे छ ।
काठमाण्डाैमा पनि बीच सडकमै गाडी रोकेर व्यवसायीहरूले साङ्केतिक विरोध गरेका छन् । माइतीघर–बबरमहल सडक ठप्प बनाएर उनीहरूले प्रदर्शन गरेका हुन् । सुदूरपश्चिमका धेरैजसो रुटमा लामो दुरीका गाडी चलेका छैनन् ।
हिजोदेखि आन्दोलन शुरू गरेका व्यवसायीहरूले आफ्ना माग पूरा नभए देशभर सार्वजनिक गाडी ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवसायीहरूले जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाएका थिए । त्यसबारे सरकारका तर्फबाट कुनै निर्णय लिइएको छैन ।
राइड शेयरिङले आफैँ मनपरी भाडा तोक्ने र सरकारलाई राजस्व तिर्न नपर्ने, त्यसबाट उठेको अर्बाैं रकम विदेश जानेलगायत विभेद भएको व्यवसायीहरूको गुनासो छ ।