नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेको छ।
उक्त आयोजना प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको छ।
आयोजनाको निरीक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्च पदस्त अधिकारीहरू गएका थिए। उनीहरूले आयोजनाको अवस्थाबारे जानकारी लिएका हुन्।
यो आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख छ।
आयोजना निर्माणका लागि एक्जिम बैंक अफ इन्डियाबाट ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर निर्माण अघि बढाइएको छ।
बाँकी रकम नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने उल्लेख छ।
आयोजना आगामी आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ।
तोकिएको समयमा सकिन्छ वा सकिँदैन। तोकिएको समयमा सक्नका लागि गर्नुपर्ने सहजीकरण लगायत विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ।
आयोजना निर्माणलाई सिभिल तथा हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल गरी दुई भागमा बाँडिएको छ।
लट–१ सिभिल तथा हाइड्रोमेकानिकल कामको ठेक्का जइप्रकाश एसोसिएट्स लिमिटेड भारतले पाएको छ।
सिभिलतर्फ बाँध, इन्टेक, डिस्याण्डर, टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युतगृह लगायत काम छन्। सिभिलतर्फ हाल ८१ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ।
लट–२ इलेक्ट्रोमेकानिकल कामको ठेक्का पनि भारतीय कम्पनीले पाएको छ।
यो काम भारत हेभी इलेक्ट्रिकल लिमिटेडले गरिरहेको छ। यसअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर लगायतका उपकरणहरू आपूर्ति तथा जडान जस्ता काम भइरहेका छन्। यसतर्फ ५० प्रतिशत काम भइसकेको उल्लेख छ।
आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा जोडिनेछ।
तोकिएको अवधिमा काम सकिने आयोजनाले बताएको प्राधिकरणले जनाएको छ।