बगरफाँट–भकिम्ली सडक स्तरोन्नतिको काम अलपत्र : वस्ती जोखिममा

म्याग्दीको बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम बगरफाँट क्षेत्रमा अधुरै छोडेर निर्माण कम्पनिका प्रतिनिधि कार्यक्षेत्रमा नआएपछि वस्ती जोखिममा परेको छ ।

नाली र पानीको निकास नहुँदा सडकमा बगेको भल वस्ती र खेततिर सोझिने गरेको स्थानीयले बताएका छन् । सडकमा ढुङ्गा,वालुवा लगाएतका निर्माण सामाग्रीहरु अलपत्र अवस्थामा छोडिएको छ । सवारीसाधनलाई आवतजावतमा पनि समस्या उत्पन्न भएको बेनी नगरपालिका वडा नं २ बगरफाँटका नारायण थापाले बताउनुभयो ।

सडकमा बग्ने लेदो सहितको भल बस्ती र खेततर्फ पस्न थालेपछि स्थानीयले कोदालोले सडकको भल पन्छाउने गरेका छन् ।
यो सडकको ट्रयाक खुलेको १८ वर्ष पछि स्तरोन्नतिको काम थालिएको हो । सडक स्तरोन्नतिको जिम्मा लिएको माछापुच्छ्रे हिमालयन जेभीका प्रतिनिधिसँग यस विषयमा कुरा गर्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । १८ महिनामा निर्माण सम्पन्न गर्नका लागि अघिल्लो वर्षको जेठमा ठेक्का सम्झौता भएको थियो । अझै ६ महिना ठेक्का अवधी बाँकी रहेको भएपनि वस्ती नै जोखिममा पारेर सडक अलपत्र छोडेको भनि ठेकेदार कम्पनिप्रति स्थानीय आक्रोशित बनेका छन् ।

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति अनुगमन समितिका नारायण कार्कीले ठेक्का अवधी बाँकी रहेपनि वस्ती जोखिममा पारेर काम छोडेका निर्माण कम्पनिका प्रतिनिधिसँग सम्पर्क गरी अहिले नाली र पानीको निकासको काम सक्न आग्रह गर्ने बताउनुभयो ।

विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान गर्न थालिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभीरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ ।
गण्डकी प्रदेश सरकारले चालु आवमा दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।