अन्नपूर्ण प्रथम आरोहणको ७५ वर्षः सबैतिरबाट बिर्सिइएका लुई लासनाल

बुबा मौरिस हर्जोगको पदचाप पछ्याउँदै छोरा माथिएस हर्जाेग र नाती सहितको टिम यतिबेला अन्नपूर्ण प्रथम (८०९१ मिटर) को आधारशिविरसम्मको पदयात्रामा छन्। मौरिस हर्जोग नेतृत्वले ७५ वर्षअघि पहिलोपटक अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेको थियो। सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो।

आठहजार मिटर उचाइ माथि मानव पाइला पुगेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुई लासनाल पनि साथमा थिए। अन्नपूर्ण प्रथमको चुचुरोमा मौरिस र लुई मात्र पुगेका थिए। अन्नपूर्णमा मानव पाइला पुगेको त्यही दिनका सम्झनामा अहिले पनि हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ। पर्यटन व्यावसायीले यो दिन विशेष कार्यक्रम गर्दै आएका छन्।

अन्नपूर्ण प्रथम आरोहणको हिरक महोत्सवको अवसर पारेर योपटक अन्नपूर्ण प्रथम बेसक्याम्प (नर्थ साइड) मा आयोजित विशेष कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली समेत मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगे। बेसक्याम्पमा आरोहीहरु मौरिस हर्जाेग, लुई लासनाल र नेपाली आरोही सोनाम वाङचुक शेर्पाको शालिक पनि अनावरण गरिएको छ।

‘अन्नपूर्ण प्रथम आरोहण गर्दा चुचुरोमा पुग्नेमा मौरिस र लुई मात्र थिए। तर, अहिले चर्चा मौरिसको मात्र हुने गरेको छ,’ उनले भने, ‘लुई परिवारलाइ पुरै बेवास्ता गरिएको फ्रान्सको पर्वतारोहण क्षेत्रमा गुनासो रहेको छ।’

मौरिसपुत्र माथिएस सहितको टिमलाई अन्नपूर्ण प्रथमको पदयात्रामा स्वागत गरिरहँदा मौरिसका सहयात्री लुई लासनाल बारे भने खोजि नभएको गुनासो पर्वतारोहण क्षेत्रको छ। अन्नपूर्ण प्रथमको पहिलोपटक आरोहण गर्दैगर्दा मौरिस र लुई सँगसँगै भएपनि पछिल्लो समय लुईको परिवारबारे खासै चाँसो कसैले दिएका छैनन्। मौरिससँगै लुई परिवारको पनि खोजि हुनुपर्ने सरोकारवालाको भनाई छ।

सरकार, पर्यटन बोर्ड र पर्यटन व्यावसायीले अरुबेला पनि लुईबारे खाँसै चाँसो नदिएको भन्ने गुनासो रहेको नेपाल–फ्रान्स मैत्रीसंघका अध्यक्ष बिनोद खकुरेलले जानकारी दिए। खकुरेलका अनुसार यतिबेला मौरिसपुत्र सहितको टिमलाई नेपालमा स्वागत हुँदा लुईको परिवार बेखबर जस्तै छ। झन्डै तीनदशकदेखि फ्रान्समा रहेका खकुरेलका अनुसार लुईकी ८० वर्षिया श्रीमति र दुइ छोरी छन्। छोरीहरुको विवाह भइसकेको छ।

परिवारमा तत्काल नेपाल आउन सक्ने सक्रिय सदस्यको रुपमा कोही नदेखिएपनि नेपालमा भईरहेको अहिलेको कार्यक्रममा सहभागिताका लागि कसैले उनीहरुलाई आधिकारिक निम्ता समेत नगरेको खकुरेलले जानकारी दिए। ‘तत्काल नेपाल जाने भन्दा पनि आफुहरुलाई नेपाल र नेपालको पर्वतारोहण क्षेत्रले भुलेको भन्ने गुनासो लुई परिवारको छ,’ खकुरेलले भने।

खकुरेलका अनुसार केही समय अघि फ्रान्स पुगेका पर्यटन मन्त्री, पर्यटन बोर्डका पदाधिकारी सहितको टोलीलाई लुईको परिवारबारे जानकारी दिइएको पनि थियो। मौरिससँगै लुई परिवारलाई पनि अहिलेको कार्यक्रममा समेट््नुपर्ने त्यो बेला सुझाव दिइएको थियो। तर, अहिले कसैले पनि नेपालमा भईरहेको कार्यक्रमबारे जानकारी नदिएको खकुरेलले बताए।

‘अन्नपूर्ण प्रथम आरोहण गर्दा चुचुरोमा पुग्नेमा मौरिस र लुई मात्र थिए। तर, अहिले चर्चा मौरिसको मात्र हुने गरेको छ,’ उनले भने, ‘लुई परिवारलाइ पुरै बेवास्ता गरिएको फ्रान्सको पर्वतारोहण क्षेत्रमा गुनासो रहेको छ।’

अन्नपूर्ण प्रथम आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण समेत गरेको छ। पदमार्गको नामाकरण गर्दा पनि लुईलाई बिर्सेको गुनासो उनीहरुको परिवारको रहेको खकुरेलले बताए। हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमाझ झनै चर्चा पाएको भएपनि लुई ओझेलमा परेको उनले बताए।

‘पर्वतारोहण जमात लुईलाई ओझेलमा पारेको विषयबारे उत्तिसारो सन्तुष्ट छैन। एउटै मिसनमा सफल भएका दुइजना मध्ये एकजनाको चर्चा भएको र अर्काेलाई बिर्सेको गुनासो छ,’ उनले भने, ‘सबैलाई सम्मान गर्न जान्नुपर्छ। विभेदजस्तो देखिएको यो कदमका कारण नेपालबारे फ्रान्समा नराम्रो छवी बनेको छ।’

लुइसलाई जानीजानी वेवास्ता गरेको गुनासो परिवारका सदस्यसँगै पर्वतारोहण क्षेत्रको रहेको उनले बताए। ‘कतिपय ठूलो जमातमा एकजनाको मात्र नाम लिँदा अरु रिसाउने अवस्था छ। मैले यो बारेमा बारम्बार पर्यटन बोर्डलाई जानकारी गराउँदा पनि वास्ता भएन,’ खकुरेलले भने, ‘मौरिसँसगै लुईलाई बिर्सदा अन्याय हुनेछ। पर्वतारोहण क्षेत्रमा लुईको नाम छुट्नु राम्रो सूचना होईन।’

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने लुई परिवारले पनि यो बेला नेपाल आउन चाहेको तर, उनीहरुलाई आधिकारिक रुपमा नबोलाएको भन्ने आफुलाई जानकारी आएपछि माथिल्लो निकायमा अवगत गराएको बताउँछन। ‘लासनालको परिवारको पनि चाँसो आएको हो। मैले पनि सम्बन्धित ठाउँमा जानकारी गराएको हो। मौरिस र लासनाल सँगसँगै आरोहण गरेको पक्का हो,’ उनले भने, ‘लासनालको पनि खोजि हुनुपर्छ। एउटै टिम भएकोले मौरिससँगै लासनालको खोजी गर्नुपर्छ।’ पुस्तक लेखेकोले मौरिसको हाईट बढेको हुनसक्ने उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य पनि मौरिस र लुईले एकैपटक आरोहण गरेकोले दुवैलाई समान सम्मान गर्नुपर्ने बताउँछन। ‘मौरिससँगै लुईलाई पनि सम्मान गर्नुपर्छ। लुईलाई बिर्सन मिल्दैन। हामीले लुईलाई बिर्सेमा उनीप्रति अन्याय हुन्छ,’ उनले भने।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन लुईको परिवारसँग आफुहरुको सम्पर्क नभएको बताउँछन। ‘हामीले लुईलाई कदापि बिर्सन मिल्दैन। मौरिसका छोराले आफै खोज्दै आएकोले बढी चर्चा भयो। अहिले पनि उनैले ठूलो टोली आएको छ,’ पुनले भने, ‘तर, लुइसबारे हामी बेखबर छौ। तर, हाम्रो सम्मान लुईलाई पनि मौरिस सरह छ।’