दामोदरकुण्डमा लेक लागेर एक तिर्थयात्रीको मृत्यु

हिन्दू धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल दामोकरकुण्डकमा एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा नुवाकोट जिल्लाका ७० वर्षीय भोजबहादुर सिटौलाको मृत्यु भएको हो ।

समुन्द्री सतहबाट चार हजार आठ सय ९० मिटर उचाईमा रहेको दामोदरकुण्डमा दर्शनको क्रममा अचानक बिरामी भएपछि बुधबार दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीलृे बताउनुभयो । मृतकको शव आज शुक्रबार हेलिकोप्टरबाट ल्याउने तयारी भइरहेको छ ।

बिहीबार प्रतिकुल मौसमका कारण मृतक सिटौलासहित परिवारका अन्य सदस्यको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतक सिटौलासँगै गएका एक सदस्यमा सामान्य समस्या भए पनि अन्य सदस्यमा कुनै समस्या छैन । उच्च स्थानमा दिर्घरोगी तथा वृद्धवृद्धालाई लेक लाग्ने समस्या हुने भएकाले आवश्यक स्वास्थ्यको चेकजाँच गरी जान अनुरोध गरिएको छ । दामोदर कुण्डमा दैनिक २५ जनाभन्दा बढी जाने गर्दछन् ।

दामोदर कुण्ड क्षेत्रमा रहेका तिर्थयात्रीका बारेमा सुर्खाङ प्रहरी चौक र दामोदर कुण्ड समितिमार्फत थप जानकारी लिने काम भइरहेको छ । यो सिजनमा दामोदर कुण्डमा जाने भक्तजनलाई धर्मशालासहित अन्य स्थानमा सहज समन्वयका लागि जेठ २० गतेबाट खुल्ला गरिएको थियो । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन् । यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड । जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामाकुण्ड करिव १ सय मिटर टाढा छ ।