अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

बेनी नगरपालिका–६ अर्थुङ्गेमा ब्याडमिन्टन खेलाडीहरुको सीप अभिवृद्धि गर्ने उद्देश्यले एक हप्ते ब्याडमिन्टन खेल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्रको आर्थिक सहयोगमा सुरु गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्ण सिंङ बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गा विशिष्ट अतिथि रहनुभएको थियो भने अर्थुङ्गे ब्याडमिन्टन क्लबका अध्यक्ष सुन्दर बानियाको अध्यक्षता रहेको थियो । कार्यक्रम संचालन क्लब सदस्य गणेश केसीले गर्नुभएको थियो ।

प्रशिक्षणमा करिब १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ भने जिल्लाका अनुभवी खेलाडी प्रबेश मगर र सुवास सुबेदीले प्रशिक्षण प्रदान गर्दै छन् ।

क्लबका अध्यक्ष सुन्दर बानियाका अनुसार यस प्रशिक्षणबाट खेलाडीहरूको खेल सीपमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । साथै क्लबले ब्याडमिन्टन कोर्ट निर्माणका लागि जग्गाधनी दुर्गादत्त उपाध्यायसँग जग्गा सम्झौता गरी निर्माण कार्य अघि बढाएको जानकारी समेत दिनुभयो । ब्याडमिन्टन खेल प्रशिक्षण कार्यक्रम जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।