---Advertisement---

रोग, किरा र माटोमा अम्लियपनाका कारण म्याग्दीमा केरा उत्पादन घट्यो

On: June 8, 2025 10:05 PM
Follow Us:

विगत २५ वर्षदेखि खेतको फाँट, बारीका पाटा र खरबारी जतासुकै केरा खेती गरेर वार्षिक रु दुई करोड भन्दा बढी आम्दानी गर्दै आएका बेनी नगरपालिका २ खबराका कृषकहरु पछिल्ला केही वर्षयता केरा खेतिबाट राम्रो उत्पादन हुन छोडेपछि चिन्तित भएका छन् ।

खबरामा केरी खेतीको सुरुवात २५ वर्ष अघि स्थानीय मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको थियो । त्यसपछि खबराका १६० घरधुरीले व्यवसायिक रुपमा केराखेती गरेर प्रतिघर वार्षिक रु ६ लाखदेखि १५ लाखसम्म भित्राउदै आएकोमा पछिल्ला दुई वर्षयता रोग,किरा र माटोमा देखिएको अम्लियपनाका कारण उत्पादनमा ह्रास आउँदा आम्दानी पनि घट्दै गएको स्थानीय कृषक ध्रुव सापकोटाले बताउनुभयो ।

२०५७ सालदेखि सुरु भएको खबराको केरा खेती अहिले खेतका गरादेखि खरबारी र बेनी–भकुण्डे सडकको छेउछाउसम्म फैलिएको छ । तर,खेती विस्तारसँगै रोग र किराको पनि प्रकोपले गर्दा उत्पादन पहिलाको जस्तो हुन छोडेपछि विकल्पको खोजीमा लाग्नुपर्ने अवस्था आएको अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै पर्ने यो गाउँमा गरिएको केराखेतीमा खबटे किरा र बोट पहेलिने रोगका कारण बोटहरु पनि सुक्दै जान थालेका छन् ।

स्थानीय शोभित सापकोटाले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गरेर वार्षिक रु सात लाख भन्दा बढि कमाउँदै आउनुभएकोमा विगत दुई वर्षयता रु चारदेखि पाँच लाखसम्म मात्रै आम्दानी हुनेगरेको बताउनुभयो ।

त्यसैगरी स्थानी शुभसागर सापकोटाले धान फल्ने खेत मासेर गरेको केराखेतीबाट आम्दानी घट्दै जान थालेपछि पुनः केराका घरी फाँडेर धान खेती गर्ने सोंच बनाएको बताउनुभयो ।

त्यस्तै १० रोपनी जमिनमा केरा खेती गर्दै आउनुभएका खबराकै हरि कुँबरले पनि केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपियाँ बढी आम्दानी गर्दै आउनुभएकोमा गत साल रु चारलाख मात्र आम्दानी भएको र यस वर्ष तीन लाख पनि नहुने संकेत देखिएको बताउनुभयो । “केराका बोट पहेंलिएका छन्,कोसा पनि साना र थोरै लागेका छन् । बोट मर्दै गएकाले पुराना बोट फाँडेर नयाँ लगाउने योजना बनाएको छु ”कुवँरले भन्नुभयो ।

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको बेनी नगरपालिकाका कृषि शाखा अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।