मुस्ताङको घरपझोङ गाउँपालिका–५,ठिनीमा रहेको हिउँ चितुवा गुफा पर्यटकको आगमन बढेसँगै धमाधम पुर्वाधार विस्तार गरिएको छ । गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि रेलिङ सहित पदमार्ग, पार्क, खानेपानीको धारा सहित तटबन्धनको काम भइरहेको छ ।
मनाङ जिल्लाकामा रहेको तिलिचो ताल जाने मुस्ताङको प्रवेशद्धारा तथा मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि पर्यटन तथा उद्योग कार्यालय मुस्ताङमार्फत २० लाख बजेट विनियोजन गरिएको जनमुक्ति यूवा क्लवका अध्यक्ष सञ्जय थकालीले बताउनुभयो । अध्यक्ष थकालीले भन्नुभयो,‘‘हिउँ चितुवा गुफामा आउने पर्यटकलाई सहज हुने गरी पूर्वाधार बनाउँदैछु ।’’
गुफा क्षेत्रलाई थप सौन्दर्ययुक्त बनाउन हिउँ चितुवाको शालिक बनाएर विशेषतालाई समेत उल्लेख गरिने क्लव अध्यक्ष थकालीको भनाई छ । आगामी बजेटमा हिउँ चितुवाको बासस्थान क्षेत्र सहित आसपासमा कलात्मक चित्र सहितको संरचनाका लागि गाउँपालिका, प्रदेश र संघीय सरकार समक्ष माग गरिएको स्थानीय यूवा निरज थकालीले बताउनुभयो ।
सिजनमा सडक सञ्जालबाट दैनिक २० जनाभन्दा बढी पर्यटक गुफाको अवलोकनका लागि आउने गरेका छन् ।
सदरमुकाम जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने पदमार्ग समेत सरसफाईमा समेत स्थानीयले सक्रियता देखाउने गरेका छन् । गुफा आसपासमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेरा राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेपछि यहाँ पर्यटकको आगमन बढेको हो ।
नीलगिरि हिमालको काखैमा रहेको ठिनी गाउँलाई ‘लुकेको हीरा’ को नामले समेत चिनिन्छ । थकाली बाहुल्य ठिनी गाउँबाट ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय स्थलमा जानेलाई लक्षित गरी थकाली सामुदायिक घरवास र थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय रहेको छ ।