मुक्तिनाथ मन्दिर र लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतको पहल

गण्डकी प्रदेश सरकारले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र एतिहाँसिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा समुद्र सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिएको मुक्तिनाथ मन्दिर र लोमान्थाङ गाउँपालिकामा रहेको १५ औं शताब्दीको एँतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीका लागि प्रभावकारी पहल गर्ने उल्लेख छ ।

मुक्तिनाथ मन्दिरमा नेपाल, भारत तथा तेस्रो मुलुकमा रहेका हिन्दु र बौद्ध धर्मालम्बीहरू बर्षेनी लाखौंको संख्यामा पुग्ने गरेका छन् । हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ

त्यसैगरी करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङमा रहेको दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो।

यसैबीच धार्मिक तथा ऐतिहाँसिकस्थलहरु मनकामना मन्दिर, बागलुङ कालिका, लिगलिगकोट दरबार, गोरखा दरबार, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, क्होलासोथर, पुर्कोट कालिकालाई समेत विश्व सम्पदा सूचीमा राख्ने गरी तयारी गरिने उल्लेख छ । यता निति तथा कार्यक्रममा देवघाटदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटन प्रर्वधन गर्ने उदेश्यले अन्तराष्ट्रि«यस्तरको धार्मिक पर्यटकीय सर्किटको रुपमा प्रयोग गरिने छ ।

कोरला नाकाबाट हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि प्रयोग गर्न नेपाल सरकार समक्ष आवश्यक पहल गर्ने उल्लेख छ ।। नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ । नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो ।

यसपटक नीति तथा कार्यक्रममा धार्मिक तथा पूर्वाधारका क्षेत्रका लागि प्राथमिकतामा परेका क्षेत्रको कार्यान्वयनका लागि आगामी आवको सुरुवातदेखि नै सक्रिय हुने मुस्ताङको प्रदेशसभा (क) का नेपाली कांग्रेसका नम्डु गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङ क्षेत्रबाट तिब्वतमा रहेको समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा कैलाश पर्वतका लागि मार्ग खोल्न सकेमा धार्मिक पर्यटनका लागि गण्डकी प्रदेशका लागि कोशेढुंगा सावित हुने प्रदेशसभा सदस्य गुरुङको भनाई छ ।