उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्राबास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ ।
आइतबार लोमान्थाङ गाउँपालिका–२,छोसेरमा रहेको दिब्यदिप माध्यामि विद्यालय प्राङ्गनमा एक समारोहका बिच कुल चार करोड ३० लाख ८५ हजार ३४९ रुपियाँ आर्थिक लागतमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङ र भारतीय दुतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले संयुक्त उद्घाटन गर्नुभएको हो ।
शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरूङले आवासीय भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै सहयोगको प्रशंसा गर्नुभएको थियो । भवन निर्माणमा भारतीय दुताबासबाट कुल लागतको ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकाश केसीले बताउनुभयो ।
भारतीय दुतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण उदाहारण रहेको बताउनुभयो । भवन शिलन्यासमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय जनप्रतिनिधि,सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिब्यदिपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देही लगायतका जिल्ला सहित बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । भवन निर्माणका लागि स्थानीय बृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा समेत दान दिनुभएको थियो । उपल्लो मुस्ताङमा भारत, चिनियाँ, अमेरिकाको सहयोगमा विभिन्न परियोजनामा बर्षेनी लगानी गर्ने गरिएको छ । गोरखापत्र अनलाइन