रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आईपीएम) सिकाएको छ ।

कृषि ज्ञान  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसार सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।

कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आईपीएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हाम्रो  स्वास्थ्यमा असर गर्ने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए ।

उनले तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएकाले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको दाबी गरे । सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनको भनाइ छ ।

यसैबीच, ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका– १ कुन्छाली टोलका किसानलाई आईपीएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए । उनले भने, ‘आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आईपीएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।’

बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए । ‘सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ’, उनले भने ।

किसान आनन्द भुजेल घर्तीले भने, ‘हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।’ वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आईपीएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उनको भनाइ छ ।

कृषक रीता घर्तीले अञ्जानमै विषादी खाएको तालिमकै क्रममा थाहा पाएको र यसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताइन् । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उनको भनाइ छ । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताइन् । (रासस