एम्बुलेन्सविहीन बेनी अस्पताल

सदरमुकाम बेनीमा रहेको सरकारी अस्पतालमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एम्बुलेन्स नहुँदा बिरामी मर्कामा परेका छन् । बेनी अस्पतालमा रहेको बा.२ झ ३१०१ नम्बरको एम्बुलेन्स पछिल्लो १४ महिनादेखि बिग्रेर थन्किएको छ । अस्पतालको आफ्नो एम्बुलेन्स बिग्रिएपछि मर्मत नगरी त्यसै राखिएको छ भने अर्को ल्याउनेतर्फ प्रयास भए पनि त्यो हुन सकेको छैन ।

बेनी अस्पतालको एम्बुलेन्सको २०७९ सालमा पहिलो पटक इन्जिन बिग्रेको थियो । उक्त समस्या देखिएपछि नयाँ इन्जिन हालेर केही समय चले पनि राम्रोसँग सञ्चालन नभएपछि पुनः इन्जिन मर्मत गरिएको थियो । त्यसपछि २०८० चैत २१ गते बागलुङमा पुग्दा बिग्रेको एम्बुलेन्सचालक गोपी गौतमको भनाइ छ । बागलुङमा बिग्रेको एम्बुलेन्सलाई तानेर ल्याई पार्क गरी राखिएको उहाँले बताउनुभयो । अस्पतालको एम्बुलेन्स नहुँदा बिरामीलाई अन्य अस्पताल लैजानका लागि समस्या हुने गरेको बेनी नगरपालिका–४, सिगाका गणेश पौडेलले बताउनुभयो ।

बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविरञ्जन प्रधानले एम्बुलेन्स नयाँ ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही निश्चित प्रक्रियाका कारणले रोकिएको हो, जति सक्यो चाँडो एम्बुलेन्स ल्याउने प्रयास भइरहेको छ । हालै पनि टेन्डर आह्वान गरिएको थियो तर कसैले पनि टेन्डर नहाल्दा रोकिएको हो ।” एम्बुलेन्स खरिदका लागि ३० देखि ३५ लाख रुपियाँ भएकाले त्यसमा मिल्ने गरी टेन्डर खुलाउँदा कतैबाट पनि टेन्डर नपरेको उहाँले जानकारी दिनुभयो ।

Previous articleमुलुक पुरानो व्यवस्थामा नफर्कने
Next article‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’