अभिनेत्री दीया पुनले युरोपको सबभन्दा अग्लो हिमालको आरोहण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,शिख पुख्यौली घर भएकी अभिनेत्री दीया पुनले युरोपको सबभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गर्नुभएको छ । मंगलबार बिहान १० बजे ५,६४२ मिटर उचाइको हिमालको शिखरमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । त्यहाँ आरोही पुनले नेपालको झन्डा फहराउनुभएको छ ।

यसअघि दीयाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अफ्रिकाको सबभन्दा अग्लो हिमाल किलिमन्जरो, दक्षिण अमेरिका महादेशको अकोनकागा हिमाल र नेपालकै मनास्लु हिमाल आरोहण गरिसक्नुभएको छ ।

सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री समेत रहेकी दीयाले आफू ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएको छ ।

बेलायतमा नर्सिङ पेशामा समेत संलग्न आरोही पुनले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’ र ‘मन्त्र’मा अभिनय गरिसक्नुभएको छ । दीयाको पछिल्लो समय फिल्म ’दयारानी’ सुपरहिट बनेको थियो। दीया अभिनीत आगामी फिल्म ’एक्लो’ प्रदर्शनको तयारीमा छ। यो फिल्ममा अन्तरीक्षयात्रीको भूमिका निर्वाह गर्नुभएको छ ।