---Advertisement---

११ महिनामा चालु खर्च ४१ प्रतिशत मात्रै

On: June 17, 2025 9:07 AM
Follow Us:

 म्याग्दीमा चालु आर्थिक वर्षको ११ महिनामा पुजीगत (विकास) खर्च ४१ प्रतिशत हाराहारी भएको छ ।

प्रदेश तथा संघ तर्फको कुल विकास खर्च एक अर्ब नौ करोड ३५ लाख ११ हजारमध्ये ४५ करोड ७८ लाख ६१ हजार पाँच सय ९४ रुपियाँ अर्थात् ४१ दशमलव ८७ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा संघ सरकार तर्फको विकास बजेट खर्च ४२ दशमलव ५८ प्रतिशत भएको छ । असारको २५ गते भन्दा पछाडी कुनै पनि सरकरी भुक्तानी हुँदैनन् त्यसैले त्यस दिन भित्र भुक्तानी गर्न मिल्ने गरी करिब २० दिन काम गरेर ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था देखिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षमा म्याग्दी जिल्लाको विकास बजेट २८ करोड ४८ लाख ९६ हजार रहेको छ । उक्त रकममध्ये हालसम्म १२ करोड १३ लाख १८ हजार नौ सय २३ रुपियाँ अर्थात् ४२ दशमलव ५८ प्रतिशत रकम खर्च भएको छ ।

चालु खर्च भने हालसम्मको अवस्था हेर्दा सन्तोषजनक मान्न सकिने उहाँको भनाइ छ । चालु तर्फ भने तीन अर्ब ३८ करोड ३ लाख ६० हजार छ सय पाँच रुपियाँमध्ये दुई अर्ब ७८ करोड ८९ लाख ७६ हजार आठ सय ३१ रुपियाँ अर्थात् ८२ दशमलव ५१ प्रतिशत खर्च भएको छ ।

संघ सरकारको मात्रै नभएर प्रदेश सरकार तर्फको बजेटको अवस्था पनि उस्तै देखिएको कोलेनिकाले उपलब्ध गराएको रेकर्डले देखाउछ । चालु तर्फ प्रदेशको बजेट ४८ करोड ९९ लाख २२ हजार रहेकोमा २९ करोड ५८ लाख ६१ हजार तीन सय ३८ रुपियाँ अर्थात् ६० दशमलव ३९ प्रतिशत खर्च भएको छ ।

जिल्लामा प्रदेशबाट आएको विकास बजेटको खर्च भने अहिलेसम्म सन्तोषजनक हुन सकेको छैन । प्रदेशबाट जिल्लाको विकास बजेट ८० करोड ८६ लाख १५ हजार रुपियाँ रहेकोमा हाल सम्म ४१ दशमलव ६२ प्रतिशत रकम खर्च भएको छ । कोलेनिकाले दिएको तथ्य अनुसार म्याग्दीमा विकास बजेट ३३ करोड ६५ लाख ४२ हजार ६ सय ७१ रुपियाँ खर्च भएको छ ।

म्याग्दी जिल्लाको समग्र प्रदेश तथा सङ्घीय सरकारको बजेट चार अर्ब ९६ करोड ३७ लाख ९३ हजार छ सय पाँचमध्ये ७१ प्रतिशत अर्थात् तीन अर्ब ५४ करोड २६ लाख ९९ हजार सात सय ६३ रुपियाँ खर्च भएको छ । विकास खर्च तर्फ भने जिल्ला भरको प्रदेश तथा संघ तर्फको गर्दा पनि ४१ प्रतिशत हाराहारी मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक सुवेदीको भनाइ छ । 

अमृतप्रसाद पौडेल