---Advertisement---

बेनीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (भिडियो)

On: June 18, 2025 10:43 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-७, पुस्तकालय चोकमा फल्चा शैलीमा निर्माण गर्न लागिएको विश्रामस्थलको शिलन्यास गरिएको छ । बेनी सामुदायिक माविसँगै जोडिएको वडा कार्यालय अगाडी सार्वजनिक जग्गामा भक्तपुर जिल्लाका कालीगढ र इँटाको प्रयोग गरी १२ लाखको लागतमा प्राचिन मौलिकता झल्कने गरी विश्रामस्थलको मेयर सुरत केसीले शिलन्यास गर्नुभयो । करिब ३० जना एकैपटक बस्न मिल्ने विश्रामस्थलमा परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरी असार महिनामै सम्पन्न गरिने छ ।

उक्त बिश्रामस्थलमा विद्यार्थी, ग्रामिण क्षेत्रबाट आएका सर्वसाधारण तथा बृद्धबृद्धाहरुलाई सहज हुने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । विश्रामस्थलको शिलन्यास कार्यक्रममा उपमेयर ज्योति लामिछाने पौडैल, कार्यपालिका सदस्य र्सिजना श्रेष्ठ, वडा सदस्यहरू सोहन श्रेष्ठ, रमेश फगामी, नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, फल्चा निर्माण उपभोक्ता समितिका संयोजक कुविरकुमार श्रेष्ठ सहित अगुवाहरुको उपस्थिती रहेको थियो । करिब साढे ३ सय बर्ष अगाडी नेवार समुदायले मानबस्तीको विस्तार गरेका थिए । नेवारी भाषामा केही समयको विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा नामले चिनिन्छ ।