संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउनु भएका बेनी नगरपालिका–६ जामुनाखर्कका हेमबहादुर सार्कीको शब नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरू गरिएको छ । तीन महिना अगाडी मृत्यु भएपछि सार्कीको शब अस्पतालमा अलपत्र परेपछि परिवारको पहिचान नभएको समाचार बेनीअनलाइनमा प्रकाशित गरेको थियो । मोना यूएईले नेपाली दुतावासमार्फत शब नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया सुरु भएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो ।
‘आफन्तसँग सम्पर्क भयो, अब हामीले आवश्यक कानुनी प्रक्रियालाई अगाडी बढाउँछौ’ अध्यक्ष राम्जालीले भन्नुभयो ।मृतक सार्की कार्यरत कम्पनी, श्रम कागजात सहित अन्य विभिन्न सुविधाका बारेमा बुझ्ने काम भइरहेको छ । यता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले यूएईबाट प्राप्त हुने क्षर्तीपुर्ती सहितका कागजातहरुका बारेमा मोनासँग समन्वय गरिने बताउनुभयो। घरको आर्थिक अवस्था कमजोर भएकाले यूएईमा रहेका म्याग्देलीलाई समेत आवश्यक आर्थिक सहयोग तथा थप समन्वयका लागि समेत अध्यक्ष बानियाँले अनुरोध गर्नुभएको छ ।