प्राकृतिक छटाले भरिएका हरिया भीरपहरा अनि डाँडापाखा। दन्त लहरझैं मिलेका हिमश्रृङ्खला। चिरबिरचिरबिर चराचुरुङ्गीका आवाज। हावाका झोक्काहरूको मन्द स्पर्श। छङ्छङ् झरना अनि कलकल खोलाको आवाज। खुल्ला आकाश, स्वच्छ अनि शान्त र मनोरम वातावरण। तपाईंको दिमागमा यतिबेला कस्तो चित्राङ्कित भयो? के तपाईंलाई यस्तै ठाउँमा जाऔं जस्तो लागेन?
सायदै कुनै नेपाली होला, यस्तो ठाउँमा जान नचाहने! धेरै समय भएछ यस्तो आनन्दित ठाउँको यात्रा नगरेको। यस्ता ठाउँमा घुम्न रुचाउने मान्छे हुँ तर अचेल धेरै भयो यस्तो अवसर नजुरेको। मान्छेले चाहनुपर्छ र निरन्तर प्रयास गर्नुपर्छ इच्छा पुरा हुँदो रहेछ!
हाम्रो म्याग्दीमा एउटा कथन छ ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’।
हो, त्यही यात्राको साइत जुुर्यो। ६ वर्ष पहिलेदेखि गुर्जा जाने सपना र योजना थियो। पहिलो गुर्जा यात्रा करिब १२ वर्ष अघि नै भएपनि धित मरेको थिएन, त्यसैले फेरि पुग्ने सपना साँचेको थिएँ।
म्याग्दी जेसीजको अभियानलाई जसरी हुन्छ गुर्जासम्म जोड्ने योजना थियो। पटक-पटक योजना बनाए पनि सफल हुन सकेको थिएन। वि.सं. २०२२ मा म म्याग्दी जेसीजको शाखा अध्यक्ष हुँदा सबै तयारी पुरा हुँदा अन्तिम समयमा आएर कार्यक्रम रोकिएको थियो। यस वर्ष भने सबै चाँजोपाँजो मिल्यो अनि हिँडियो गुर्जातिर।
म्याग्दी जेसीज वर्ष २०२५ को कार्ययोजना तयार गर्दै यसपटक जसरी पनि गुर्जा जानुपर्छ भनेर शाखा अध्यक्ष जेसी विनोद घर्तिलाई वार्षिक कार्ययोजनामा राख्न लगाएको थिएँ। धेरै योजना बनाउँदा पनि यात्रा सम्भव नभएपछि यसपटक भने करिब ५, ६ दिनको योजनामा गुर्जातिर म्याग्दी जेसीज परिवारको यात्रा प्रारम्भ भयो। कुनै समय बेनीबाट ३ दिन लगाएर गुर्जा पुगेको म आफैं यसपटक भने बिहानै बेनीबाट हिँडेर दिनमै गुर्जा पुग्ने लक्ष्य बन्यो।
ताकममा आमाले बनाउनु भएको खानाले बडो मिठो स्वाद दियो। गाउँको पानी नै मिठो, त्यसमा पनि आमाले पकाएको, आहा! बाटोमा जुका लाग्ला, लेक लाग्ला भनेर लसुन अनि टिम्मुरको छोप झोलामा हालिदिनुभयो, आमाको मन न हो।
यसको एउटा प्रभाव थियो, जुन केही दिन अगाडि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले गुर्जामा पुगेर दिएको वक्तव्य।
उहाँले भन्नु भएको थियो ‘जम्मा २ घण्टा हिँड्यो भने गुर्जा आइ त हालियो।’
झक दाइसँग नजिकको सम्बन्ध भएकाले पनि सधै उहाँसँग समन्वय गरिरहेको थिएँ। तर जाने टुुँगो थिएन। त्यसैले शाखा अध्यक्ष विनोद घर्तिलाई म जाने नजाने टुङ्गो छैन, गुर्जामा सबै व्यवस्था हुन्छ, तपाईंहरुले जाने तयारी गर्नुस् भन्दा, अनुहार अध्यारो पार्नु भएको थियो। जब २५ गते बेलुका म पनि जाने पक्का भयो भने उहाँले आनन्दको सास फेर्नु भयो।
वि.सं. २०८२ वैशाख २६ गते बिहान ८ बजे बेनीबाट मोटरसाइकलमा १२ जना म्याग्दी जेसीजको टिम अघि बढ्यो। मेरो सारथी पर्नु भयो म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठ। यात्रा दोस्रो भएपनि मनमा छुट्ट अनुभूति भइरहेथ्यो। उत्सुकता थियो अनि धेरै वर्षपछिको योजना सफल भएकोमा आनन्द पनि।
बिहानको खाना खान ९:३० बजे शाखा अध्यक्ष विनोदकै घर ताकममा पुुग्यौं। आमाले हामीलाई पर्खिएर बस्नु भएको रहेछ। हामी पुगिसकेपछि क्रमशः शाखा अध्यक्ष विनोद स्कुटर रन्काउँदै आइपुग्नु भयो, पूर्वअध्यक्ष खम थापा मगर र वीरेन्द्र श्रेष्ठ पनि सोही रफ्तारमा आइपुग्नु भयो।
आमाले बनाउनु भएको खानाले बडो मिठो स्वाद दियो। गाउँको पानी नै मिठो, त्यसमा पनि आमाले पकाएको, आहा!
गुर्जा पुग्ने भएकाले बाटोमा जुका लाग्ला, लेक लाग्ला भनेर लसुन अनि टिम्मुरको छोप झोलामा हालिदिनुभयो, आमाको मन न हो।
खानापछि हामी सबैजना भेला भयौं। गुर्जामा पुग्ने मात्र भन्दा पनि हामीले गर्न सक्ने कार्यक्रम गरौं भन्ने योजनासहित गएका थियौं। जसमध्ये गुर्जामा पर्यटनको सूूचना बोर्ड स्थापना गर्नु एक थियो। हामीले ताकममा बोर्ड बनाउन लगाएका थियौं। गाडीले माथिसम्म पुर्याइदिन्छ भन्ने कुराकानी थियो तर गाडीसँग सम्पर्क नभएपछि आफैं लैजानु पर्ने भयो।
बाइकमा समातेर लैजान अप्ठ्याराे देखियो अनि ‘जहाँ समस्या त्यहाँ उपाय’ भन्ने त उक्ति नै छ। महासचिव देबेन्द्रजीले विनोदजिको स्कुटरमा बलियोसँग डोरीले बाँध्नु भयो। अनि धुलो उडाउँदै मोटरसाइकल र स्कुटर हुुइँकिए, म्याग्दीको सबैभन्दा विकट भनिएको गुर्जातिर।
गुर्जाले ‘छिटो आऊ है म पर्खिरहेको छु’ भनेर बोलाएझैं लाग्यो। वडाध्यक्ष झक दाइलाई हामी ताकमबाट अघि बढेको फोनमार्फत् जानकारी गराएँ।
ताकमसम्म सडक धेरै स्तरोन्नती भएको रहेछ। उत्कृष्ट सडकमा मोटरसाइकल कुदाउँदा मसँगै बस्नु भएका सुविन दाइ गीत गुन्गुनाउँदै हुनुहुन्थ्यो, ‘बाइरोडको बाटोमा धुलो उडाउँदै……….’, ‘झमझम पर्यो पानीगुर्जा घाटैमा…..।’
यात्रा निकै उत्साहपूर्ण हुँदै थियो। सोही दिन नै गुर्जा देउराली पुगेर पर्यटकीय बोर्ड स्थापना गर्ने योजना थियो। लमसुङ पुग्ने बेलामा खोला तरेर सिधैं उकालो जानुपर्ने बाटो रहेछ, त्यसपछि मोटरसाइकलले हिँड्न अलि अप्ठ्यारो माने जस्तो गर्यो।
सुविन दाइलाई बाइकबाट ओरालेर त्यो उकालो कटाएँ। वीरेन्द्र दाइको बाइक त अझै अगाडिबाटै हिँड्न अल्छी मानेको रहेछ। अगाडि पनि पुरै उकालो रहेछ। मोटरसाइकलले तान्न निकै गाह्रो गर्यो। सायद बुढेसकाल लाग्यो होला, अनि हिँड्ने हतार भएकाले सर्भिसिङ्ग समेत गर्न पाइएको थिएन।
गुर्जा गाउँमा पर्यटनको प्रशस्तै सम्भावना छ। विशेषतः छन्त्याल जातिको कला संस्कृति र जीवनशैली अध्ययन गर्न सकिन्छ। प्राकृतिक हिसाबले पनि मनोरम छ।
लम्सुङबाट लुलाङसम्म पुग्न निकै गाह्रो भयो। त्यही बेलामा हल्काहल्का पानी पर्न थाल्यो, मानौकी गर्मीमा शिलता प्रदान गर्दैछ। एक्लै चढ्यो भने तान्ने तर दुई जना भयो भने पिकअप लिनै गाह्रो।
अब भने पानी वर्षन सुरु गर्यो। सुविन दाइ प्लास्टिक ओढेर हिँड्न थाल्नु भयो। म भने केही उकालो एक्लै बाइकमा उकालिएँ। दाइलाई हिँड्न निकै गाह्रो भएको महसुस गरेँ।
सबै साथी अगाडि गइसकेका थिए। पानी झन् दर्किन थाल्यो। यति हतार गरेर हिँडिएछ वीरेन्द्र दाइ, विनोदजी र मैले त पानीबाट बच्न कुनै ओढ्ने कुरा हाल्नै छुटेछ।
पानीमा रुझ्नुको विकल्प थिएन। लुलाङ गाउँ कटेर केही माथि पुगिसकेका थियौ, अब गुर्जा नपुग्दासम्म कुनै घर वा बस्ती भेटिने सम्भावना नै थिएन। पानीमा रुझ्नुको पनि त छुट्टै मजा थियो।
साथीहरू पर्खिएर बस्नु भएको रहेछ। सुविन दाइलाई अर्को बाइकमा चढाएर अलि कम वजन भएको साथीलाई मेरोमा राखें। तर, अवस्था उस्तै। बढो जोडबलले केही माथिसम्म एक्लै चढ्दै, अनि उकालो आयो भने आफू झरेर बाइकलाई मात्र डोर्याउँदै, हल्का तेर्सो बाटो आयो भने साथीलाई चढाउँदै गयौं। शरीर साह्रै थकित भएपछि केहीबेर थकाइ मार्यौ।
गुर्जा पुग्ने एकजना बुबा डोकोभरि सामान बोकेर आउँदै हुनुहुन्थ्यो। उहाँसँग एकैछिन गफियौं। म, वीरेन्द्र, खम, विनोद सँगै थियौ भने अरु साथी कहाँ पुगे पत्तो थिएन। मोबाइल फोनबाट सोधौं भने नेटवर्क नै थिएन।
त्यही बेलामा सुमन बानियाँ पनि स्कुटर हुइक्याउँदै टुप्लुक्क आइपुगे। मेरो बाइकमा बस्ने साथीलाई उनले एकैछिन लिफ्ट दिएपछि भने बाइक हुइँकिन थाले। त्यसपछि त बाटो पनि अलि सहज नै रहेछ। सिमसिम पानीमा भिज्दै घनघोर जङ्गल, शान्त वातावरण, चराचुरुङ्गीको आवाज सुन्दै यात्रा गर्नुको छुट्टै मजा थियो। बजारको कोलाहल सुनेर थकित कान, आनन्दित थिए। नयनरु उत्साहित थिए। मन शान्त थियो। मात्र आनन्दै आनन्द थियो।
बाटोमा जाँदै गर्दा देउरालीमा एउटा मात्र घर। जहाँ पुगेर सुविन दाइले मकैभटमास भुट्न लगाउनु भएछ। तेजेन्द्र भाइ हामीलाई लिन फर्किए। मैले खम दाइलाई बाइकमा राखेर देउराली पुग्यौं। यहाँ त बाइकले पनि गजबले तान्यो सायद देउरालीको सौन्दर्य, अनि प्राकृतिक छटाले ऊर्जा दिएको हुनुपर्छ।
जब देउराली पुग्यौं पानी यसरी पर्यो कि, मानौ उसले भन्दै थियो, ‘तिमीहरू आज यहीँ बस, थकाइ मेटाउ अनि आनन्द लिएर जाऊ।’
पानी निरन्तर परिरहकै थियो। हामीले भने मकैभटमास, चाउचाउ र अण्डाको सुप बनाएर खायौं। आमाले दिएको टिम्मुरको छोपले थप स्वाद थप्यो। झण्डै एक घण्टापछि पानी अलि कम हुँदै गयो। त्यत्ति नै बेला खगेन्द्र र विशाल पनि टुप्लुक्क आइपुगे। उनीहरू ताकममै छुटेका थिए, हामी अघि बढ्दा।
पानी कम हुँदा झण्डै ३ बजेको थियो जबकि ३ बजे हामी गुर्जा पुग्ने योजनामा थियौं। बडो मुस्किलले उकालो कटेर आएका हामी, अब ओरालो झर्नु थियो।
अब भने बाइकले नतानेर हिँड्नुपर्छ वा उकालोमा धकेल्नुपर्छ भन्ने मानसिक तनाब थिएन। त्यो सपना पनि एकैछिनमा चकनाचुर भयो।
एउटा गीत छ नि ‘उडायो सपना सबै हुरिले’।
यहाँ सपना सबैले झरीले उडाएको थियो। भर्खर खन्दै गरेको ट्रयाक, देउरालीभन्दा तल गाडी, मोटरसाइकल खासै हिँडेका रहेनछन्। बाटो खनेपछि पानी पनि खासै परेको रहेनछ। केही ओरालो मात्र के हिँडेका थियौं, मोटरसाइकलले भुइँलाई माया गर्न पुगिहाल्यो।
चोटपटक भने कतै लागेन। अघिसम्म उकालो कसरी चढ्ने भनेर तनाव लिएका हामी अब ओरालो कसरी जाने भनेर पिरोलियौं।
पानी सिमसिम परिरहेकै थियो। बडो होसियारी साथ कोही ठाउँमा झर्दै, कोही ठाउँमा पछिबाट बाइकलाई अड्याउँदै, लड्दै, उठ्दै लोतबाङसम्म पुुग्यौं। कुनै कुनै बेला त बाइक आफैं लरररर अगाडि जान्थ्यो, बस आफूले बाइक अड्याए पुग्ने, जति साहसिक थियो यात्रा उत्ति मजा पनि।
बाटो खन्ने डोजरका चालक र अन्य साथी त्यहाँ टहरा बनाएर बसेका रहेछन्। बाटो तलसम्म नै पुगेपनि हामीले भने सुरक्षा र अन्य दृष्टिकोणले बाइक त्यही राख्ने निर्णय गर्यौं।
एकछिन गोठमा रहेका दाजुभाइसँग गफियौं। पानी पर्न भने छाडेन। गुर्जामा स्थापना गर्ने पर्यटकीय बोर्ड त्यहाँसम्म त स्कुटरमा जसोतसो लगेका थियौ तर त्यहाँबाट कसरी पुर्याउने भन्ने समस्या भयो।
खच्चडहरू गुर्जासम्म सामान लैजान आएका रहेछन्। साथीहरूले उनीहरुलाई खच्चडमा बोर्ड लैजान आग्रह गर्दा आनाकानी गरेछन्। बोकेर लैजान सक्ने हाम्रो अवस्था थिएन । शाखा अध्यक्षले म सामु आए। म गएर कुरा गरेपछि अनि बल्ल राजी भए।
साँढे चार बजेतिर खच्चड सँगसगै हामी पनि ओरालो लाग्यौं। जे होस् बाटो तलसम्मै पुगेको रहेछ। हामीभन्दा धेरै अगाडि गएका साथीले मोटरबाटोको अन्तिम विन्दुसम्म बाइक पुर्याएका रहेछन्।
उहाँहरू धेरै अघि गइसक्नु भएको थियो। खच्चड हिँडाल्ने भाइहरू अमेश र हरिसँगै गफिँदै करिब १ घण्टा हिँडेपछि खाम्जा खानीमा पुग्यौं। अमेश भाइले बिहे गरेको भर्खर १ महिना जति भएको रहेछ, छिटो घर पुग्नलाई खच्चड छिटोछिटो हिँडालेको भनेर जिस्किएँ।
हामी सबै जना खित्का छाड्यौ।
त्यहाँसम्म पुग्दा हाम्रो टोली ३ वटा समूह भइसकेको थियो, आ-आफ्नो हिँडाइ अनुसार। मसँग सँगै पछ्याउँदै तेजेन्द्र भाइ थिए भने, वीरेन्द्र, खम, विनोदलगायतको टोली बिचमा र सुविन दाइहरू अन्तिममा।
एउटा भनाइ छ नि, ‘सहरका घर नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँका घर टाढा हुन्छन् मन नजिक हुन्छ’। गुर्जामा त घर एकदमै नजिक रहेछन् अनि मनको त कुरै नगरौं, कति हो कति नजिक!
यतिका बेलासम्म ओरालो झरेका हामी अब भने उकालो हिँड्नु थियो। उकालो सुरु मात्र के भएको थियो, खुट्टाले थाहा पाइहाल्यो। केही हिँडेपछि ६० वर्षीया आमा भिमसरा विक र उहाँको बुहारी भेटिनु भयो। त्यो उमेरमा पनि डोकोभरि सामान बोक्नु भएको थियो।
यही त होला गाउँले जीवन, गाउँको हावापानी र खानपान!
हामी भर्खर ३०–३२का युुवा रित्तो ज्यान हिँड्न पनि सकसमा थियौं। मनमनै भनें, ‘सायद शरीर सहरिया भएछ।’
उहाँलाई देखेपछि बाल्यकाल सम्झें। म पनि गाउँकै हावापानीमा जन्मिएर, त्यहीको माटोसँग मितेरी गास्दै हुर्केको हुँ। तर, बानी परिवर्तन भएछ।
केही दिदीबहिनी तल फाँटमा मकै खन्दै हुनुहुथ्यो। माथि डाँडाबाट चिच्यायौं, उहाँहरू पनि तलबाट चिच्याउनु भयो।
फेरि उकालाको रफ्तार बढ्यो। अब भने पानी विस्तारै बिदा हुँदै थियो। देउराली भन्दा केही अगाडि पुग्दैगर्दा सप्तरंगी इन्द्रेणी लाग्यो, जुन असाध्यै मनमोहक थियो।
गुर्जाले ठूलो इन्द्रेणीको गेट बनाएर हामीलाई स्वागत गर्यो। साना बच्चा हुँदा गाउँबाट देखिथ्यो तर धेरै वर्षपछि यसरी इन्द्रेणी देख्न पाइयो।
दिनको २ बजे पुग्ने लक्ष्यसहित हिँडेका हामी साँझको ५:५०मा मात्र गुर्जाको देउरालीमा पुग्यौं। मौसमले पनि कुरा बुझेछ क्यारे, पानी बन्द भएर घाम लाग्यो।
अब त घाम अस्ताउने समय। रातो घाम गुर्जा हिमाल निकै मनमोहक देखियो, जस्तो कि बिहेमा सजिएकी दुलहीजस्तै।
टाढैबाट देखियो गुर्जा गाउँ। टम्म मिलेर बनेको गाउँ। देख्दै स्फूर्ती बढ्यो।
हामी त्यहाँ पुगेको झण्डै ३० मिनेटपछि अरु साथी पनि आइपुग्नु भयो। वडा अध्यक्ष झक दाइसँग सम्पर्क भयो। रात पर्न आँटेकाले सबै कार्यक्रम बिहान गर्ने सल्लाह भयो। अनि हामी गाउँभित्र पस्यौं।
झक दाइ, भाउजू र अन्य हामीलाई स्वागत गर्न बस्नु भएको रहेछ। हामी उहाँको आँगनमा पुग्यौं। फूलमालाले भव्य स्वागत गर्नुभयो। निकै स्नेहपूर्वक र आत्मीय स्वागत। त्यतिबेला हामीले बाटोका सबै दुःख बिर्सियौं। स्वर्ग कहीँ छ भने यही हो जस्तो लाग्यो।
मनमनै प्रकृतिलाई धन्यवाद दिएँ। मौसम सफा भएको भए, यात्रा सहासिक नभएको भए के यो यात्रा सधै स्मरणमा रहन्थ्यो होला र?
तातोपानी, चिया अनि मकैभट्ट टेबलमा आइपुग्यो। उकालो हिँडाइको थकान, केही भोक अनि गाउँको अर्गानिक खाजाले जिब्रो रमायो।
निकैबेर गफियौं झक दाइसँग। उहाँले गुर्जाका सम्भावनाका बारेमा, गुर्जालाई अन्य जिल्लासँग जोड्न सकिने बाटो, त्यसबिचमा हुनसक्ने व्यवसाय, पर्यटन प्रवर्द्धनलगायतका बारेमा धेरै कुरा सुनाउनुभयो।
हामी उत्साही बन्यौं। एउटा नेतृत्वले चाहने र काम गर्ने हो भने कति काम सकिन्छ भन्ने एउटा उदाहरण पनि हो उहाँ। उहाँकै अथक मेहनत र प्रयासबाट अब केही वर्षमा गुर्जालाई सडकले छुनेछ।
तलबाट मोटरबाटो पुग्दा नपुग्दै दबाबस्वरुप गुर्जातिरबाट केही किलोमिटर मोटरबाटो केही वर्ष पहिल्यै उहाँकै नेतृत्वमा गाउँलेले खनिसकेका छन्।
गुर्जा भौगोलिक रुपले मात्र विकट हो। नत्र भने उहाँकै पहलमा त्यहाँ इन्टनेट पुगिसकेको छ, फोरजी सञ्चालनमा छ। स्थानीयको आर्थिक अवस्था निकै माथि छ। हामी गुर्जा पुग्ने अनि गुर्जाका करिब २०० जना युवा यार्चागुम्बा संकलन गर्न लेकतिर जाने भएछ।
गाउँमा स-साना बालबालिका, बुबाआमा धेरै हुनुहुन्थ्यो। हाम्रो समूहलाई दुई ग्रुपमा बाँडेर बास बसाइयो।
वर्तमान शाखा अध्यक्षसहित हामी सबै पूर्वअध्यक्षहरू झक दाइकोमा बस्यौं। बाँकी अर्को घरमा।
खानापछि साथीहरू बेडमा पल्टनु भयो म, झक दाइ र सुविन राति झन्डै ११ बजेसम्म तातो आगोको रापमा गफिएर बस्यौं। स्थानीय समस्या, सम्भावनादेखि देश तथा विदेशकासम्म कुराकानी गर्न भ्यायौं।
चराचुरुङ्गी चिरबिर चिरबिर आवाज, भालेकोे डाँकोले उज्यालो भएको संकेत गर्दै थियो। बिहान ५ बजेतिर निन्द्रादेवीले पनि उठाइन्। झ्याल खोरेर बाहिर हेरें, झिसमिसे अध्यारोबाट उज्यालो हुँदै थियो।
योगमा जोडिएपछि त बिहानै उठ्ने बानी लागेको छ।
झ्याल खोलेर बाहिर हेरें, अहा मनमोहक डाँडा!
साथीहरूमस्त निन्द्रामै थिए। नित्यकर्मपछि गुर्जा गाउँ हेर्न गल्लीभित्र पसें।
एउटा भनाइ छ नि, ‘शहरका घर नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँका घर टाढा हुन्छन् मन नजिक हुन्छ।’
यहाँ त घर एकदमै नजिक रहेछन् अनि मन, मनको त कुरै नगरौं कति हो कति नजिक!
गल्लीमा ढुंगा बिच्छाएर सुन्दर र आकर्षक सिँढी बनाइएको रहेछ।
मानिस धारामा पानी भर्दै थिए। कोही गोठतिर जान उकाली चढ्दै थिए भने केही मेलापातका लागि। घरका धुरीबाट विस्तारै धुवाँ पुत्ताउन थालेको थियो।
गुर्जा गाउँको दृश्य साँच्चै लोभलाग्दो थियो। केही गल्ली छुटे होलान्, नत्र करिब सबै घर र गल्ली घुमेर फर्किएँ। साथीहरू उठ्ने क्रम जारी थियो।
तातोपानी र चिया तयार थियो। महसँग सातु र चिया खाइयो। अर्गानिक खाना पाएपछि जिब्रो पनि रमायो।
रहर अनि मन त गाउँभन्दा करिब २ घण्टा माथि डाँडामा पुग्ने थियो जहाँबाट गुर्जा लगायतका हिमाल हेर्न पाइन्छ। तर, हतारको यात्रा भएकाले गाउँभन्दा केही माथिसम्म उक्लियौं। अनि फरक्क फर्केर गाउँ हेर्यौं।
नयनले शितलता प्राप्त गरे, मनमा शान्ति छायो।
गुर्जामा पर्यटनको प्रशस्तै सम्भावना छ। छन्त्याल जातिको बाहुल्यता रहेको गुर्जामा सामुदायिक होमस्टे विकास गरेर छन्त्याल जातिको कलासंस्कृति अध्ययन केन्द्र बनाउन सकिन्छ। छन्त्याल जातिको सीप, संस्कृति र परिकार पर्यटकीय आकर्षण बन्न सक्छन्।
हामीले धेरै कार्यक्रम गर्ने योजना बनाएका थियौं। युवा लक्षित तालिम, खेलकुद, पुस्तक हस्तान्तरण, निःशुल्क कम्प्युटरमर्मत जस्ता कार्यक्रम पुरा गर्यौं। स्थानीय दाल, च्याउको तरकारी र खाना खाएर हामी फर्किर्यौं।
देउरालीमा पर्यटकीय बोर्ड राख्यौं। झक दाइ र केही स्थानीय हामीसँगै त्यहाँसम्म आउनुभयो। जाँदाखेरिको पानी चुटाइले मन चिसो बनाएको थियो, आज पनि पानी नपर्ला भन्ने अवस्था थिएन। दिउँसो ३/४ बजेपछि पानी पर्ने मौसम देखिएको थियो। त्यसैले हामीले त्यो समयभित्र देउराली कट्ने योजना बनाएर सबै काम सक्यौं।
फेरि आउँदा डाँडाबाट गुर्जा हिमालसँग आँखा जुधाउने मनमनै वाचा गरें।
हामीले बिदाइका हात हल्लायौं। अहँ गुर्जाले बिदा भन्न मानेन्। झक दाइ भन्दै हुनुहुन्थ्यो, ‘कमसेकम दुुई दिन यतै बस्ने गरी आउनुभएको भए बल्ल यहाँको स्वाद पाउनुहुन्थ्यो।’
साथीहरूले घोडा चढ्ने इच्छा व्यक्त गरेपछि ८ वटा घोडा व्यवस्थापन भयो। १२ जनामध्ये ४ जना साथी हिँड्ने कुरा भयो। ओरालोमा घोडा चढ्ने कुरा भएन।
‘ओरालोमा मलाई बचाउनु, उकालीमा म बचाउँछु’ भन्छ रे घोडाले।
ओरालोमा घोडासँगै हामी पनि हिँडेर झर्यौं। खाम्जाखानीबाट घोडा चढ्न मिल्ने रहेछ। त्यहाँ पनि म, वीरेन्द्र र खम दाइ अघि थियौं। भाइले हामी सबैलाई घोडा चढाए। केही घोडा उनीहरूले डोर्याउनुपर्ने रहेछ, संयोगवश मलाई भने नियमित मान्छे बोकिरहने घोडा परेछ।
विनोदजीलाई परेको घोडा अलि चलाख नै रहेछ।
उहाँ चढ्ने वित्तिकै घोडा हिँड्न थाल्यो त्यो पनि पुल माथि। उहाँ आत्तिएर झण्डै लड्नु भयो। घोडा डोर्याउने भाइ र हामीले हौसला दिएपछि विस्तारै अगाडि बढ्यौ, वीरेन्द्रदाई अलि कमजोर घोडा परेछ उहाँ पनि हिँड्नु भयो।
जब घोडा चढ्यौं फेरि पानीले यात्रा ऐतिहासिक बनाउने संकेत गर्यो। पानी यसरी आयो कि, ओढ्ने कुरा केही नभएपछि रुझ्नुको त विकल्प नै थिएन। अलिकति ओरालो आउँदा पनि ज्यान सिरिङ्ग हुन्थ्यो। साँघुरो बाटो मनमा डर त लाग्ने नै भयो त्यसमा पनि पहिलोपटक यात्रा गर्नुछ। पानीमा यति मजासँग भिजियो कि फेरि पनि पानीको कुरा गर्यो वा आकाशमा पानी पर्न आँट्यो भने त्यही यात्राका चित्र स्मृतिमा आउने गरी।
लोतबाङ पुगेको धेरै समयसम्म पनि पानी परि नै रह्यो। सबैले बाइक चेक गर्यौं डर थियो कतै स्टार्ट नहुने त होइन भनेर।
स्टार्ट भएपछि आनन्दको सास फेर्यौं। अब तनाव थियो कसरी देउरालीसम्म पुग्ने। तल बाइक लगेर राखेका देबेन्द्रजीहरूलाई धेरै बेर कुर्यौ तर उहाँहरूको अत्तोपत्तो भएन। फोन सम्पर्क वा अन्य सम्पर्क केही हुने अवस्था थिएन। झन्डै १ घण्टा त्यही कुर्यौं।
अति भएपछि मैले बाइक लिएर अलि तलसम्म पुगेर हेरें बाटोमा बाइकको छाप देखेपछि पक्का भयो कि उहाँहरु फेरि पनि हामीलाई त्यही छाडेर अघि जानु भयो। बाटोको अवस्थाले सिंगल बाइकमा चालक जाने र पछाडि बस्ने साथी हिँड्दै छोटो बाटोबाट देउरालीसम्म जाने सल्लाह भयो। अनि हामी बाइक लिएर उकालियौं।
केही बाटो त सहजै गयौं तर अलि माथि पुगेपछि न त बाइकको टायर अडिन्थ्यो न त मान्छेका खुट्टा। हामी माथि जाने प्रयास गर्थ्याैं, बाटोले तल नै धकेल्थ्यो। केही साथीले पछिबाट धकेल्ने, बाइकबाट ओर्लिएर चलाउने गरेर बडो मुस्किलका साथ त्यो अप्ठ्यारो बाटो पार गर्यौं।
झण्डै ३ ठाउँमा बडो कठिनाइका साथ बाटो कटायौं। करिब ४ बजे बल्ल देउरालीमा पुग्यौं। हामी त पुग्यौ तर सुविन, खम दाइ अनि खगेन्द्रजी हिँडेर आउँदै हुनुहुन्थ्यो। करिब डेढ घण्टा कुरेपछि बडो थकित अवस्थामा उहाँहरू पनि आइपुग्नु भयो।
छोटो बाटो हिँडेर आउने भनेर छाडेर आएका थियौं तर उहाँहरू त बाटो हराइन्छ भनेर मोटर बाटैबाटो आउनु भएछ। खमलाई उकालोमा निकै गाह्रो भएछ। एकछिन हामी रिसाउनु पनि भयो, लिन आउन पदैन भनेर।
तातोतातो चाउचाउ र अण्डामा टिम्मुर राखेर सुप खुवाएपछि केही सहज भयो। उहाँहरूले आराम गरेपछि खाजा खाएर यात्रा अघि बढायौं। पानी विस्तारै कम हुँदै थियो। अघिल्लो दिन पनि यही देउरालीबाट पानीले भिजाउँदै लगेको थियो। र, भोलिपल्ट पनि पानीले त्यहीसम्मै रुझायो। मनैमनले भन्यो गुर्जाबाट पानी अघिल्लो दिन त्यहीसम्म लिन आयो अनि आज पनि यहीसम्म रुझाउँदै लिएर छाड्यो।
मौसम अनि देउरालीलाई मनमनै धन्यवाद दिएँ, पानी रोकिएर मौसम खुलेकामा। यात्रा स्मरणीय र ऐतिहासिक बन्यो। अघिल्लो दिन जाँदासम्म ठिक भएकोे बाटो फर्कंदा भने बाटोको पुरै माटो बगाएर गेगर मात्र बाँकी थियो। पानी कति ठुलो परेछ भन्ने कुराको प्रमाण बाटोले पेश गर्यो।
अगाडि जाने साथी त गइहाल्नु भो, बाँकी रहेका हामी सँगसँगै विस्तारै गुड्यौं। फर्कंदा पनि बाइकको फुट ब्रेकले धोका दियो बडो सजगताका साथ पानी हाल्दै हिँड्दै लमसुङ ओरालो कट्यौ। विनोदजी ताकममा बस्ने प्रस्ताव गर्दै हुनुहुन्थ्यो।
हामी रोकिएनौं। बाटोभरि जाँदा आउँदा भोगेका पीडा, महसुस गरेका अनुभूति दिमागमा सल्बलाइरह्यो। गुर्जाको सम्झना मुटुभरि साँचेर, बाटोमा भोगेका कठिनाइलाई साहसिक यात्राको अवसरका रुपमा ग्रहण गरेर फर्कियौं। मनमा गुर्जाबासीको आत्मीयता बोकेर।
रातको करिब १ बजे बेनी आएर टक्क रोकियो बेनी–गुर्जा एक्सप्रेस!