सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न सिर्जनात्मकलेखन प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम भएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार आयोजित प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये प्रकाश माविका मनिक अधिकारी प्रथम हुनुभएको हो ।
यसैगरी प्रतियोगितामा म्याग्दी एकेडेमी सिङ्गाका अनिशा तामाङ द्वितीय, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका युनिशा खत्री तृतीय, न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्राप्ति कँडेल र धौलागिरि मावि मुनाका निशा पुन सान्त्वना भएको सामाजिक विकास कार्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले क्रमशः नगद १० हजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिताको म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, उपप्राध्यापक तारानाथ शर्मा र सहायक प्राध्यापक रेखाकौशल रेग्मीले मूल्याङ्कन गर्नुभएको थियो भने उपप्राध्यापक शर्मा, सहायक प्राध्यापकहरु गोरखनाथ सुवेदी, अर्जुन पौडेल र हरिहर शर्माले सहजीकरण गर्नुभएको थियो । उत्कृष्ट तथा सहभागी विद्यार्थीहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, सामाजिक विकास कार्यालय प्रमुख तारानाथ सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विदुर शर्मा चापागाईँ र क्याम्पस प्रमुख सुवेदीले नगद एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउने उद्देश्यसहित विद्यार्थीलाई लक्षित गरेर म्याग्दी बहुमुखी क्याम्पसमा सिर्जनात्मकलेखन कार्यशाला आयोजना गरिएको सामाजिक विकास कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । कार्यालय प्रमुख सुवेदीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबार र मङ्गलवार दुईदिनसम्म कार्यशालामा साईबर सुरक्षा, किशोरावस्थामा विवाहका चुनौतीहरु, जलवायु परिवर्तनका असर तथा न्यूनीकरणका उपायहरु, गण्डकी प्रदेशको विकास, म्याग्दी जिल्लाको अवस्थालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । तालिममा म्याग्दीको छ वटा स्थानीय तहबाट गरी कुल ४८ जना विद्यार्थीहरुले सहभागिता जनाएकोमा उनीहरुमध्येबाट छनोट गरी तेस्रो दिन प्रतिस्पर्धा गराइएको थियो ।