लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।
बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन, गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको छ। बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बासिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जंगल जान थालेका छन्।
अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन बोरा ढकायो टिपेर ल्याए। ‘होटलमा आउने पाहुनालाई चखाउन, बजारका आफन्तलाई कोशेली पठाउन ढकायोको गुन्द्रुक बनाउने, रातो च्याउ टिप्ने र टुसा भाँच्ने चलन छ,’ उनले भने, ‘सहरमा धेरै माग भएकाले जंगलमा जुकाको आक्रमण सहेर खेर गइरहेको च्याउ, टुसा र ढकायो विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ।’
ताजा च्याउ प्रतिकेजी रु एक हजार एक सय र ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजारमा बिक्री हुन्छ। प्रतिमुठा टुसा रु दुई सयका दरले बिक्री हुन्छ। गुर्जा, कुइने, मंगले, घ्यासीखर्क, नारच्यांग, पाउद्वार, दोवा, दाना, मुना, खिवांग, बगर, मल्कवांग, खोरीयाको जंगलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ।
टुसा, च्याउ र ढकायोको परिकार सहरबाट आउने पाहुना र आफन्तको पहिलो रोजाइमा पर्ने गरेको खोप्रा-खयर पदमार्गमा पर्ने लरेनीका होटल व्यवसायी लिल पुनले बताए। ‘लेकाली खाद्य बनस्पति च्याउ, टुसा र ढकायोको माया यति छ कि जंगलमा ल्याउनासाथ खोसाखोस हुन्छ,’ उनले भने, ‘जाँगर र अक्कल भएकाले जंगली च्याउ, टुसा र ढकायो बेचेर आम्दानी पनि गरेका छन्।’
रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायो कोशेलीको रूपमा लैजाने गरेका छन्। अन्नपूर्ण गाउँपालिका-३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताए। विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेस्टुरेन्टका मेनुमा ढकायोको गुन्द्रुक परिकारका रूपमा राखिएको छ।
दुई हजार पाँच सयदेखि तीन हजार पाँच सय मिटर उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा संकलन गर्ने याम असार महिना हो। बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो साग आम्दानीको स्रोत बनेको मालिका गाउँपालिका-३ की शान्ति नेपालीले बताए। गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न थालेको उनले बताए। रासस