छ सय वर्ष पुरानो इतिहास चियाउने आँखीझ्याल भनिने म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटस्थित खड्गभवानी कोत पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित भएको छ ।
समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको खड्गभवानी कोतमा मन्दिर,पदमार्ग,तारबार,पटाङ्गिनी लगायतका पूर्वाधारहरु निर्माण भएपछि यहाँ धार्मिक पर्यटकका साथै दृश्यावलोकनका लागि आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।
गण्डकी प्रदेस सरकार र बेनी नगरपालिकाको रु ५८ लाख र अन्य संस्थागत निकायको बजेटबाट यहाँ रु एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधारहरु निर्माण भएका छन् । सापकोटा बन्धुहरुले करिब रु २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिनुभएको छ ।
कोत परिसरको पटाङगिनी (खुला ठाउँ) मा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ फर्केर हेर्दा दिखिने धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई पनि मुग्ध बनाउने बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गनृ पाइनुका साथै गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । बेनी बजार,कालीगण्डकी, गलेश्वर, पुलस्त्य आश्रम, ढोलठान लगायतका ऐतिहासिक र धार्मिक स्थलहरुको समेत यहाँबाट अवलोकन गर्न पाइनेहुँदा पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकहरुको संख्या बढेको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।
विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा तत्कालिन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम (डिम्ब) मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।
बेनी नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । “ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरि धार्मिक र पर्यटकीय स्थल बनाउने उद्धेश्य अनुरुप काम गरिरहेका छौँ”वडाअध्यक्ष कार्कीले भन्नुभयो “गौश्वारमा निर्माणाधिन गोवद्र्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजना सहित काम भइरहेको छ । इतिहासलाई वर्तमानसँग जोडेर भविष्यमा धार्मिक पर्यटकीय धाम बन्दैछ खड्गभवानी कोत ” अध्यक्ष कार्कीले भन्नुभयो ।